काठमाडौँ । यूएइ (दुबई) मा कार्यरत एक नेपालीले झण्डै ७० करोड रुपैयाँ बढीको चिट्ठा जितेका छन् ।
यूएईमा गाडी चालकको रूपमा कार्यरत नेपाली नागरिक पदमले महजुज राफलले चिट्ठा (ड्र) मार्फत २० मिलियन दिर्हाम अर्थात् यो समाचार तयार पार्दाको विनिमय दर अनुसार ७१ करोड ७७ लाख ८२ हजार ४९६ रुपैयाँ बराबरको चिट्ठा जितेको यूएईको स्थानीय सञ्चार माध्यम खाजिल टाइम्सले खबर लेखेको छ ।
खाजिल टाइम्सले उल्लेख गरे अनुसार पदमले चिट्ठाको पाँचै नम्बर मिलाएका छन् । उनले मिलाएको नम्बर ५, १०, ४१, ४६ र ४९ रहेको छ । सन् २०२३ मा पाँचै नम्बर मिलाएर पहिलो ठूलो चिट्ठा जित्ने पदम पहिलो सहभागी भएका छन् । बुधवार आफूले जितेको रकम बुझ्दै पदमले भनेका छन्, ‘मलाई अझै विश्वास लागिरहेको छैन ।’
पदमले यूएईमा गाडी चलाएर ५७ सय दिर्हाम अर्थात् २ लाख रुपैयाँ बराबर प्रत्येक महिना कमाउँदै आएका छन् । उनी २३ वर्षदेखि यूएईमा एउटै कम्पनीमा काम गरिरहेका छन् । उनले आफूले यसअघि पनि केही मात्रामा यस्तो चिट्ठा रकम जितेको बताएका छन् ।