म्यान्मामा तत्काल हिंसा अन्त्य गर्न राष्ट्रसङ्घका पूर्वमहासचिवको आह्वान



संयुक्त राष्ट्रसङ्घका पूर्वमहासचिव वानकी मुनले म्यान्मामा तत्काल हिंसा अन्त्य गर्न माग गरेका छन् । म्यान्माका उच्च सैनिक अधिकारीहरूसँगको आकष्मिक भेटमा उनले हिंसा अन्त्यका निम्ति आह्वान गरेका हुन् ।

पूर्वमहासचिव वानले सोमबार म्यान्माको राजधानी नेपिटोमा सैन्य सरकारका नेता, वरिष्ठ जनरल मिन आङ ह्लिङ र अन्य उच्च अधिकारीसँग भेटवार्ता गरेर हिंसा रोक्न अनुरोध गरे । विश्वभर शान्ति स्थापना तथा मानवअधिकार रक्षाको प्रयासमा जुटेको वरिष्ठ व्यक्तिहरू संलग्न समूहका तर्फबाट उनले सैन्य अधिकारीहरूलाई उक्त अनुरोध गरेको समूहले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । पूर्वमहासचिव वान उक्त समूहका उपाध्यक्ष हुन् ।
म्यान्माको वर्तमान वस्तुस्थिति बुझ्न पूर्वमहासचिव वान म्यान्मा पुगेका थिए । सोमबार राति नेपिटोबाट ब्याङ्कक उडेका उनले त्यहाँ रहँदो सैन्य अधिकारीहरूसँग सेना र प्रजातन्त्र पक्षधरहरूबीचको हिंसा रोक्नुपर्नेमा जोड दिएको विज्ञप्तिमा उल्लेख छ । उनले दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन (आसियान) र संयुक्त राष्ट्रसङ्घले म्यान्मामा शान्ति योजना कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।


सन् २०२१ मा प्रजातन्त्रवादी नेत्री आङ सान सुची नेतृत्वको नागरिक सरकारलाई अपदस्थ गरेपछि सैनिक सरकारविरुद्ध भएका आन्दोलनले हिंसात्मक रुप लिएका छन् । सैन्य सरकारले आन्दोलन दबाउन हवाई हमलालगायत घातक कारबाही गर्दै आएको छ ।