महानगरद्वारा खुलारूपमा माछामासुको बिक्री र बधमा रोक



विराटनगर । विराटनगर महानगरपालिकाले आजदेखि खुलारूपमा माछामासु बिक्रीवितरण र बध गर्न रोक लगाएको छ ।    विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने महानगरको अभियानअन्तर्गत खुलारूपमा माछामासुको बिक्रीवितरण र बध गर्न रोक लगाएको महानगर प्रमुख नागेश कोइरालाले बताएका छन् ।

उक्त अभियानलाई सफल पार्न बिहीबार महानगरले सरोकारवालासित अन्तरक्रिया गरेको थियो । स्वच्छ मासु खान पाउने उपभोक्ताको अधिकार भएकाले मासु व्यवसायलाई व्यवस्थित गर्न लागिएको उनको भनाइ थियो । महानगरको सरसफाइ, कर संकलन , सडकबत्ती जडान, बिजुलीको खम्बामा रङरोगनसहित नम्बरिङ, पार्किङलगायत अभियान सञ्चालन गरिरहेको महानगर प्रमुख कोइरालाले जानकारी दिए ।


उनले मानव स्वास्थ्य र महानगरको सौन्दर्यमा असर पर्नेगरी जथाभावी सञ्चालित मासु व्यवसायलाई व्यवस्थित गर्ने अभियानमा सहयोग गर्न सबैमा आग्रहसमेत गरे । उपप्रमुख शिल्पा निराला कार्कीले अभियानलाई सफल बनाउन अनुगमनलाई  तीव्र पारिने बताए ।

अबदेखि खुलारूपमा माछामासु बिक्री गर्नेलाई मासु जाँच ऐन, २०५५ अनुसार कारबाही हुने महानगरको आर्थिक विकास समितिका संयोजक श्याम घिमिरेले जानकारी दिए । संघीय कृषि तथा पशुपक्षी विकास मन्त्रालयका वरिष्ठ पशु विकास अधिकृत डा गंगाराम यादवले अस्वच्छ मासु सेवनको असर शरीरमा तुरुन्तै हुने र यसले दीर्घकालसम्म पनि असर पार्ने उल्लेख गर्दै पशु पछी बध गरेपछि कम्तीमा १२ घण्टासम्म फ्रिजमा राखेको मासु खानका लागि उपयुक्त हुने बताए। 

विराटनगरमा करिब तीन सय वटा मासु पसल सञ्चालनमा रहेको महानगरका पशुपक्षी विकास शाखा प्रमुख शुभनारायण यादवको भनाइ थियो  ।