मङ्गलटारको स्वास्थ्य शिविरबाट पाँच सय स्थानीय लाभान्वित



काभ्रेपलाञ्चोक । काभ्रेको रोशी गाउँपालिका–९ मङ्गलटारमा आयोजित दुईदिने बृहत् स्वास्थ्य शिविरबाट पाँच सय स्थानीय लाभान्वित भएका छन् । त्रिभुवन विश्वविद्यालय माइक्रोबायोलोजी केन्द्रीय विभाग र मङ्गल जनविजय माध्यमिक विद्यालयले संयुक्त रुपमा सो शिविर आयोजना गरेका थिए ।

शिविरमा स्त्रीरोग, प्रयोगशाला सेवा (मधुमेह, उच्च रक्तचाप, रगत, दिसा, पिसाब), नाक, कान, घाँटी, हाडजोर्नी, जनरल मेडिसिनसँग सम्बन्धित सेवा प्रदान गरिएको थियो । शिविरका संयोजक नवराज अधिकारीले शिविरमा स्वास्थ्य परीक्षण गरिनुका साथै औषधि निःशुल्क वितरण गरिएको थियो ।


शिविरमा माइक्रोबायोलोजी केन्द्रीय विभागका प्रमुख डा कोमलराज रिजाल र प्रेम पौडेल, विपी स्मृति सामुदायिक सहकारी अस्पतालबाट जनरल हेल्थमा डा सुरेन्द्र बस्नेत, स्त्रीरोग विशेषज्ञ डा कविता अधिकारी, हाडजोर्नी विशेषज्ञमा डा नवराज बस्नेत, नाक, कान, घाँटी विशेषज्ञ डा कृति अधिकारी र डा प्रवेश घिमिरे, छाला रोग विशेषज्ञ डा सहज्योति शाहले सेवा प्रदान गरेका थिए ।

सो विद्यालयका शिक्षक राजेन्द्रप्रसाद अधिकारीले स्वास्थ्य शिविरबाट स्थानीयवासी लाभान्वित भएको जानकारी दिए ।