भ्रष्टाचार अनुसन्धानका लागि पाँच वर्षे हदम्याद स्वीकार्य छैन : महामन्त्री शर्मा



काठमाडौं । नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचार अनुसन्धानका लागि पाँच वर्षे हदम्याद स्वीकार्य नहुने बताएका छन् । सरकारले संसद्मा पेस गरेको भ्रष्टाचार निवारण ऐन संशोधन विधेयकमा प्रस्ताव गरिएको पाँच वर्षे हदम्याद आफूहरुलाई स्वीकार्य नहुने उनले बताएका हुन् ।

शनिबार नेपाल विद्यालय कर्मचारी परिषद्ले ललितपुरमा आयोजना गरेको कार्यक्रममा महामन्त्री शर्माले सो प्रस्ताव सिँगै देशलाई मान्य नहुने बताए ।


भ्रष्टहरूलाई उन्मुक्ति दिनेगरी हदम्यादको कुरा राख्न नहुने बताउँदै महामन्त्री शर्माले भने, ‘भ्रष्टाचार गरेको मान्छेले पाँच वर्ष सजायको घेरामा पर्ने नाममा उन्मुक्ति पाउनुपर्ने । राख्ने नै हो भने हदम्याद २५ वर्षको राखौँ । तर कडिकडाउसँग भ्रष्टाचार गरेको मान्छेलाई कठघरामा ल्याएर उसलाई कानुनी कारबाहीदेखि आर्थिक कारबाहीसम्म राज्यले गर्नुपर्छ । मैले सार्वजनिक रूपमा पनि के भन्न चाहन्छु भने पाँच वर्षे हदम्याद जो राखिने कुरा गरिएको छ । यो हामीलाई स्वीकार्य छैन ।’

महामन्त्री शर्माले भौतिक पूर्वाधारको विकासमा भन्दा मानव संशाधनको विकासमा जोड दिन सरकारलाई सुझाव दिए । मुलुकको शैक्षिक क्षेत्रको विकासका लागि सरकारले लगानी बढाउनुपर्ने उनको भनाइ छ ।