भ्रष्ट मान्छेलाई जवाफ दिने होइन, जेलमा कोच्ने हो : रवि लामिछाने



चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्ट मान्छे र युवाहरुलाई पलायन गर्ने राजनीतिक दलका नेतालाई जवाफ दिन नसकिने बताएका छन् ।

चितवन–२ को उपनिर्वाचनका लागि आयोजना गरिएको आँबुखैरनी सभालाई शनिवार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । आसन्न उपनिर्वाचनमा चितवन क्षेत्र नम्बर–२ का उम्मेदवार समेत रहेका सभापति लामिछानेले ३० वर्ष सरकारको नेतृत्व गर्नेहरुले युवाहरुलाई देशबाट पलायन गराएको आरोप लगाए ।


नौं महिना अघि खुलेको पार्टी र ३० दिन मात्र सरकार चलाएको पार्टीलाई प्रश्न गर्ने ठाउँ नभएको पनि उनको भनाई छ । ‘हामीलाई त्यस्ता मान्छेहरुले आलोचना गरिरहेका छन्, जसलाई हामीले जेल कोच्ने भनेर लिस्ट बनाइराखेका छौं,’ लामिछानेले भने, ‘त्यसैले भ्रष्ट मानिसहरुले सोधेको जवाफ एउटा पनि दिन्न किनकी तिनलाई जेल कोच्ने हो, जवाफ दिएर हिँडने होइन ।’ उपनिर्वाचन नजिकिँदै गर्दा उम्मेदवारहरुको चुनावी सभाहरु बाक्लिन थालेका छन् ।