घोराही । सधैँ घरको काममा व्यस्त हुने राप्ती गाउँपालिका–७ सिसहनिया निवासी राजकुमारी चौधरीको दैनिकी पछिल्लो समय बदलिएको छ ।
गुन्द्री, पूजादानी, टोपी, हटकेस, पेनहोल्डर, खुत्रुक्के, ढकिया, चटकी र गमलालगायतका हस्तकलाका सामग्री बनाउने र बेच्ने काममा उनको समय बित्छ । दुई वर्षअघि समूह गठन गरेर सीप सिकेका राजकुमारीलगायतका थारु समुदायका महिला परम्परागत सीपको संरक्षणसँगै आर्थिक आम्दानीमा लागेकी छिन् ।
अचेल आफ्नै जिल्लाका विभिन्न ठाउँमा लाग्ने मेला तथा महोत्सवमा गएर बिक्री गर्ने गरेको लगनशील मुन्स उत्पादन समूहकी उपाध्यक्षसमेत रहनुभएकी राजकुमारीले बताईन् । उत्पादित सामग्री मेला तथा महोत्सवमा बिक्रीका लागि लैजाँदा आर्थिक आम्दानीसँगैै सामग्रीको प्रचारप्रसार हुने गरेको उनी बताउछिन् ।
‘पहिले घरमा हस्तकलाका सामग्री उत्पादन गरेर काठमाडौँ पठाउँथ्यौँ’, समूहकी उपाध्यक्ष राजकुमारीले भनिन्, ‘बाहिर मात्रै पठाउनु भन्दा आफै बिक्री गरौँ भनेर पछिल्लो समय लागेका छौँ ।’ पहिले घरको काम गरेर दिनभरि खेर जाने समय सीप सिकेर हस्तकलाका सामग्री बनाउन थालेपछि समयको बचतसँगै आर्थिक आम्दानी हुने गरेको समूहकी सदस्य रीता चौधरीले बताईन् । उनका अनुसार गाउँका ३० जना महिलाको समूहले दुई वर्षदेखि सङ्गठित रुपमा हस्तकलाका सामग्री उत्पादन गर्दै आएका छन् ।
‘घरको काम हुँदा घरको काम गर्छौँ, फुर्सदको समयमा काँस र मुञ्जबाट हस्तकलाका सामग्री बनाउँछौँ’, समूहकी सदस्य रीताले भनिन्, ‘हस्तकलाका सामग्री जुटाउनेदेखि बनाउने र बजारीकरणसमेत आफै गर्ने गरेका छौं ।’ महिलाले हस्तकलाका सामग्री उत्पादनका लागि आवश्यक कच्चापदार्थ देउखुरीको राप्ती नदीसँगै अपुग कच्चापदार्थ कपिलवस्तुबाट ल्याउछन्। हस्तकलाका सामग्री धेरैले मन पराउने गरे पनि अन्य सामग्रीको तुलनामा महँगो भन्ने गरेको उपाध्यक्ष राजकुमारी बताउछिन् ।