निजी क्षेत्रसँग सहकार्य गरेर सरकार अघि बढ्छः प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू निजी क्षेत्रसँग हातेमालो गरेर काम गर्न तयार रहेको बताएका छन् । मंगलबार नेपाल उद्योग वाणिज्य महासंघको ५७औँ वार्षिक साधारणसभामा सम्बोधन गर्दै प्रधानमन्त्रीले आफ्नो पहिलो र दोस्रो कार्यकालमा पनि निजी क्षेत्रसगँ सहकार्य गरेर काम गरेका कारण देखिने गरी उपलब्धि पनि हासिल गरेको बताए ।

उनले यो चुनौती मात्र नभएर काम गर्ने अवसर भएको पनि बताए । उनले अर्थतन्त्रका सूचकलाई माथि लैजान निजी क्षेत्रका व्यक्तिहरू, विज्ञ, राष्ट्र बैंक, अर्थ मन्त्रालयसँग छलफल भइरहेको बताए । केही समयअघि अर्थतन्त्र धरासायी भए पनि अहिले सकारात्मक रहेको उनले बताए ।


उनले भने,’अहिले विदेशी मुद्राको सञ्जिति उत्साहजनक छ । पहिले एक अर्बभन्दा कम भएकोमा यो ३ महिनामा राजश्व संकलन डेढ अर्बभन्दा धेरै भएको छ ।’

प्रधानमन्त्रीले लगानीमैत्री एवं व्यवसायमैत्री वातावरणका लागि सरकारले पूर्ण रुपमा सहयोग गर्ने बताए । उनले कृषिको उत्पादन पछिल्लो समय घटेको र कृषिजन्य सामग्री नेपालमा धेरै आयात हुँदै जानु दुःखद् भएको बताए । उनले सरकार आगामी आर्थिक वर्षको बजेट तथा नीति निर्माणमा केही ठूला, नयाँ र गुणात्मक योजना अघि बढाउने तयारीमा रहेको बताए ।