निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई मन्त्रालयले सोध्यो पाँच बुँदे स्पष्टीकरण



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई पाँच बुँदे स्पष्टीकरण सोधेको छ । सोमबार मन्त्रालयले तीन दिनभित्र जवाफ दिन भन्दै पाँच बुँदे स्पष्टीकरण सोधेको हो ।

पहिलो बुँदामा मन्त्रालयले मलेसियाको चार्टर उडानबाट नेपाल एयरलाइन्स (नेपाल वायु सेवा निगम) लाई के कति भार थपिएको हो स्पष्ट पार्न भनिएको छ । यसैगरी दिल्लीमा पांग्रा बिग्रिएर उडान ढिलो भएको र भाडामा पांग्रा लिँदा हुने आर्थिक भारसँगै पांग्रा जगेडा नराखेको विषयमा मन्त्रालयले जवाफ मागेको छ।


यस्तो छ पाँच बुँदे स्पष्टीकरण

१. चार्टर फ्लाइटबाट निगमलाई आर्थिक भार के कति पर्न गएको हो ? स्पष्ट नभएकोले पुनः स्पष्ट बनाउने ।

२. नेपाल एयरलाइन्सको हवाइजहाजको दिल्लीमा पाङ्ग्रा बिग्रेको कारण जहाज उडानमा ढिलाई भएको सम्बन्धमा पाङ्ग्रा लगायत सानातिना पार्टपूर्जाको व्यवस्था निगमको उडान हुने गन्तव्यमा किन राख्न नसकिएको हो ? साथै यसबाट आर्थिक भार के कति पर्न गयो ?

३. काठमाडौं दुबई सेक्टरमा पाइलटको अभावले जहाज उडानमा ढिलाई भएको जानकारी प्राप्त भएको सन्दर्भमा जानकारी प्राप्त हुँदा हुँदै पाइलटको व्यवस्था किन गर्न नसकिएको हो ? यसबाट संस्थालाई के कति आर्थिक भार पर्न गयो ?

४. एयरपोर्टमा सामान हराइरहेका गुनासो बारम्बार आइरहेकोले सो लाई नियन्त्रण गर्ने कार्य योजना के कस्तो छ ? पेश गर्ने।

५. म संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पद बहाली पश्चात टुइनेटर जहाज कति पटक ग्राउण्डेड भयो ? यसबाट संस्थालाई आर्थिक भार कति पर्न गयो ? अब आगामी दिनमा यस्तो हुन नदिने कार्य योजना हुनु पर्छ कि पर्दैन ? पेस गर्ने।