नक्कली विज्ञापन राखी अनलाइनमार्फत ठगी गर्ने ‘हाम्रो बजार डटकम’का सञ्चालक पक्राउ



काठमाडौँ । अनलाइनमा महँगो मूल्यका आइफोन मोबाइल सेटहरू सस्तो मूल्यमा बिक्रीमा छ भन्ने जस्ता आकर्षक विज्ञापन राखेर ठगी गरेको पाइएको छ ।

यसरी ठगी गर्ने ‘हाम्रो बजार डटकम’ नामक अनलाइनका सञ्चालक हुम्ला घर भई भक्तपुर बस्ने उपेन्द्र शाहीलाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको जनाएको छ । उनले यसरी विज्ञापन पोष्ट गरी त्यसमार्फत सम्पर्कमा आएका व्यक्तिहरूलाई मोबाइलको मूल्य, डेलिभरी, कुरिअर चार्ज जस्ता विभिन्न प्रयोजनमा रकम लाग्ने भनी रकम ठगी गर्ने गरेको खुलेको छ । 


उनले मोबाइल खरिद गरेबापत आफ्नो सम्पर्कमा रहेका विभिन्न व्यक्तिहरूका नाममा रहेका बैंक खाता, इसेवा तथा खल्ती वालेटहरूमा रकम पठाउन लगाउने र त्यसपछि सम्पर्कविहीन हुने गरेको पाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । 

कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले उनलाई ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि आज जिल्ला प्रहरी परिसर काठमाडौँमा बुझाइएको जानकारी दिए । 

बीमाबापतको रकम ठगीमा कम्पनीकै कर्मचारी संलग्न

यता वैदेशिक रोजगारीको सिलसिलामा मृत्यु भएका तथा बिदामा नेपाल आउँदा मृत्यु भएका नेपालीहरूले बीमाबापत पाउने रकममा ठगी गर्ने बीमा कम्पनीका कर्मचारी पक्राउ परेका छन् । यसरी पक्राउ पर्नेमा भक्तपुर चाँगुनारायण नगरपालिका–४ बुढाथोकीगाउँ बस्ने सूर्यज्योति जीवन बीमा कम्पनीमा कार्यरत जुनियर अधिकृत उमेश बुढाथोकी रहेका छन् । 

प्रहरीले सोही ठगी प्रकरणमा अर्घाखाँची छत्रदेव गाउँपालिका–४ घर भई काठमाडौँ महानगरपालिका–२६ रानीबारी बस्ने वैदेशिक रोजगार बोर्डमा कार्यरत नायब सुब्बा ३६ वर्षीय पशुपति अधिकारीलाई समेत पक्राउ गरी अनुसन्धान थालेको जानकारी गराएको छ । उनीहरूलाई पनि थप अनुसन्धान तथा कारबाहीका लागि आजै जिल्ला प्रहरी परिसर टेकु काठमाडौँमा बुझाइएको रेग्मीले जानकारी दिए । 

यसअघि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न रहेका रामबहादुर तामाङसमेत ६ जनालाई चैत २३ गते काठमाडौँ गोङ्गबुबाट पक्राउ गरिसकेको छ । उनीहरूका साथबाट मृतकको नागरिकता, राहदानी, जन्मदर्ता, मृत्यु दर्ता, विवाह दर्ता, वडा कार्यालयको सिफारिस बीमा कम्पनीको लेटरप्याडलगायत कागजातहरू बरामद गरिएको छ ।