काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १,४८८ जनाको नमुना परीक्षण गर्दा १०६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यही अवधिमा ७४ जना संक्रमणमुक्त भएका छन् । यसैबीच २४ घण्टामा ३१ हजार ५५५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
अहिले सक्रिय संक्रमितको सख्या ४३५ रहेको मन्त्रालयले जनाएको छ । काठमाडौँ उपत्यकामा २७ जना आइसोलेसन, १२ जना सघन उपचार कक्ष (आईसीयू) मा र तीन जना भेन्टिलेटरमा उपचाररत छन् ।
केही दिनयता नेपालमा कोरोना भाइरसको संक्रमण बढिरहेको छ । संक्रमण बढेसँगै स्वास्थ्य मापदण्डको पालना गर्न र कोरोनाविरुद्धको खोप लगाउन मन्त्रालयले आग्रह गरेको छ ।