चितवन र बारामा मतगणनाका लागि सर्बदलीय बैठक बस्दै



काठमाडौं । हिजो (आइतबार) सम्पन्न चितवन–२, बारा–२ र तनहुँ–१ मध्ये तनहुँको मतगणना मध्यरातदेखि जारी छ । चितवन र बाराको मतगणनाका लागि भने गए राति सर्वदलीय बैठक बस्न सकेन । मतगणनाबारे निर्णय गर्न आज (सोमबार) बिहान यी क्षेत्रमा सर्वदलीय बैठक बस्दैछ ।

बिहान ८ बजे चितवन क्षेत्र नम्बर २ को मतगणनबारे निर्णय गर्न सर्वदलीय बैठक तय भएको छ । रवि लामिछानेविरुद्ध आचारसंहिता उल्लंघनको घटना छानबिन नभइ मतगणना नगर्ने नेकपा एमाले र नेपाली काङ्ग्रेसको उम्मेदवारको अडानका कारण आज बैठक स्थगित भएको थियो ।


यस्तै बारा क्षेत्र नम्बर २ मा पनि केहीबेरमा सर्वदलीय बैठक बस्दैछ । हावाहुरीका कारण रातिदेखि नै मतगणना गर्ने अवस्था नहुँदा दलहरूले बिहान सर्वदलीय बैठक बस्ने सहमति गरेका थिए । बिहान ६ बजे उक्त क्षेत्रमा सर्वदलीय बैठक डाकिएको निर्वाचन अधिकृत सरोजकुमार चौधरीले जानकारी दिएका छन् ।