चट्याङ लागेर पश्चिम बङ्गालमा १५ जनाको मृत्यु



भारतको पश्चिम बङ्गालमा चट्याङ लागेर खेतमा काम गरिरहेका १५ जना किसानले ज्यान गुमाएका तथा कैयौँ घाइते भएका सरकारी अधिकारीहरूले बताएका छन् ।

बिहीबार साँझ चट्याङ लागेर पूर्वी बुर्दवानमा पाँच, मुर्सिदावादमा चार र पश्चिमी मिन्दापोर र हाउडामा तीन–तीन जनाको मृत्यु भएको पश्चिम बङ्गाल राज्यको विपद् व्यवस्थापन विभागले जनाएको छ । चट्याङ लागेर घाइते भएकाहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ ।


भारतीय मौसम विज्ञान विभागले आगामी चौविस घण्टामा आंशिक बदली भई मेघगर्जनसहित पानी पर्ने जनाएको छ । सरकारी तथ्याङ्कअनुसार चट्याङ लागेर गत वर्ष भारतमा नौ सय सात जनाको मृत्यु भएको थियो ।