काठमाडौं । गण्डकी प्रदेश सरकार गठनका लागि दिइएको समय आज सकिँदै छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मंगलबार दलहरूलाई सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका थिए ।
प्रदेश प्रमुख गुरुङले संविधानको धारा १६८ (२) अनुसार सरकार गठनका लागि बिहीबार (आज) दिउँसो ४ बजेसम्मको लागि समयसीमा तोकेका छन् ।
गण्डकी प्रदेशमा आज नेपाली कांग्रेसले सुरेन्द्रराज पाण्डेको नेतृत्वमा संविधानको धारा १६८ (२) अनुसार बहुमतको सरकार गठन गर्ने तयारी गरेको छ । पुस २५ गते माओवादी, राप्रपासहितको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका एमालेका खगराज अधिकारी सरकार वैशाख ९ गते ढलेपछि गण्डकीमा कांग्रेस(माओवादीको सरकार बन्न लागेको हो ।
केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति निर्वाचनमा सत्ता समीकरण बदलेपछि गण्डकीमा एमाले सरकारबाट माओवादी मन्त्रीले राजीनामा दिँदै चैत १० गते समर्थन फिर्ता लिएका थिए । सरकारमा रहेकाे कुनै दलले समर्थन फिर्ता लिएमा १ महिनाभित्र विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्थाअनुसार अधिकारीले संसदबाट वैशाख ९ गते विश्वास गुमाएका थिए ।
गण्डकीमा शीर्ष तहमै कांग्रेस-माओवादी आलोपालो गर्ने सहमति भएको नेताहरुले बताएका छन् । पहिलो चरणमा कांग्रेसले नै मुख्यमन्त्री पाउने पक्का भइसकेको छ ।
कांग्रेस र माओवादी पालैपालो काठमाडौं पुगेर सहजीकरण गरिदिन आग्रह थिए । अब कुन पार्टीले कति समय सरकारको नेतृत्व गर्ने र माओवादीले कम्तिमा कति समयपछि मुख्यमन्त्री पालो पाउने ग्यारेन्टी गर्न, ७ मन्त्रालयमध्ये ३ मन्त्रालय पाउनुपर्ने माग गर्दै केन्द्रको निर्णय कुरिरहेको छ ।