किसानलाई गहुँ ‘थ्रेसिङ’ गर्न समस्या



कञ्चनपुर । खेतमा काटिएको गहुँ ‘थ्रेसिङ’ गर्न कञ्चनपुरका किसानलाई समस्या भएको छ । गहुँ थ्रेसिङ गर्ने ट्र्याक्टर व्यवसायीले मनोमानीरुपमा मूल्य निर्धारण गरी रकम लिन थालेपछि किसान मर्कामा परेका हुन् ।

डिजेल प्रतिलिटरमा रु १० घटे पनि किसानले पुरानै मूल्यमा गहुँ थ्रेसिङ गरेबापतको रकम तिर्नुपरेको छ । ट्र्याक्टर व्यवसायीले डिजेलको मूल्य र मजदुर ज्याला बढेका कारण देखाउँदै चर्को रकम लिन थालेको किसानको गुनासो छ ।


गहुँ थ्रेसिङ गरेबापत ट्र्याक्टर व्यवसायीले प्रतिघण्टा रु तीन हजारदेखि रु तीन हजार तीन सयसम्म रकम लिन थालेका छन् । उता स्थानीय तहले भने ट्र्याक्टर व्यवसायीले लिन थालेको मूल्य नियमन गर्न दर रेट निर्धारण गरेका छन् । शुक्लाफाँटा नगरपालिकाका नगर प्रवक्ता लालबहादुर ऐरका अनुसार चैत २४ गते देखि लागू हुनेगरी प्रतिघण्टा गहुँ थ्रेसिङ गरेको रु दुई हजार पाँच सय रकम लिन पाउने गरी दर रेट निर्धारण गरेको छ ।

गहुँ नै लिने भएमा १४ बोरीमा एक बोरी गहुँ लिन पाउने नियम लागू गरिएको उनले जानकारी दिए । यसैगरी बेदकोट नगरपालिकाले पनि गहुँ थ्रेसिङका लागि प्रतिघण्टा रु दुई हजार पाँच सय दररेट निर्धारण गरेको छ ।

कृष्णपुर नगरपालिकाले भने गहुँ थ्रेसिङ गरेबापत रु दुई हजार दुई सय रकम लिन पाउने गरी दररेट निर्धारण गरेको छ । आधा किसानले गहुँबाली भित्र्याइसकेपछि स्थानीय तहले दररेट निर्धारण गरेको किसान कालुराम चौधरीले बताए ।

गहुँबालीको लागत खर्च उठाउनै मुस्किल हुन थालेपछि गहुँखेती गर्ने किसान प्रतिवर्ष घट्दै गएका छन् । कञ्चनपुरमा ३१ हजार दुई सय १० हेक्टर क्षेत्रफलमा गहुँखेती हुने गरेको छ ।