काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चालू आर्थिक वर्षको चैतसम्ममा छ अर्ब ४९ करोड ४२ लाख ५३ हजार राजस्व असुल गरेको । उक्त रकम लक्ष्यको ६२ दशमलव ३३ प्रतिशत हो । गत आवको चैतसम्ममा पाँच अर्ब आठ करोड ९७ लाख ८८ हजार असुल गरेको कामपा राजस्व विभाग प्रमुख ध्रुव काफ्लेले जानकारी दिए ।
उनका अनुसार गत आर्थिक वर्षमा भन्दा चालु आर्थिक वर्षको सोही अवधिमा एक अर्ब ४० करोड ४४ लाख ६५ हजारले बढी हो । कामपाले चालू आवका लागि करिब १० अर्ब ४१ करोड ९५ लाख ४९ हजार राजस्व असुल गर्ने लक्ष्य लिएको थियो । गत आवमा भने नौ अर्ब आठ करोड ७० लाख १३ हजारको लक्ष्य लिएको थियो ।
चालू आवका लागि हालसम्मको अवधिमा कामपाले सबैभन्दा बढी सम्पत्ति करबाट ७९ करोड ४३ लाख ६४ हजार प्राप्त गरेको छ । विगतका तीन वर्षमा कोरोना महामारीका कारण आशाअनुरुप कर असुल हुन नसकेको भए पनि चालू आवमा लक्ष्यमा पुग्न समस्या नहुने कामपा राजस्व विभागको भनाइ छ ।
सम्पत्ति, घरबहाल, व्यवसाय, विज्ञापन, मनोरञ्जन, भूमि, मूल्य अभिवृद्धि र सवारीसाधन करसहित ३६ शीर्षकमा कामपाले राजस्व असुल गर्दै आएको छ । विगतका वर्षमा कोरोनाका कारण राजस्व असुलीमा केही समस्या आए पनि यस वर्ष हालकै अवस्थामा राजस्व असुल भए लक्ष्यमा पुग्न कुनै समस्या नहुने प्रमुख काफ्लेको भनाइ छ ।
यस वर्ष कामपाका लागि बाह्य अनुदान रकम कम छ । आन्तरिक राजस्व असुलमा खासै समस्या नभएको विभागले जनाएको छ । पछिल्लो समय कामपाले राजस्व संकलनका लागि थप कडाइ गरेसँगै लामो समयदेखि उठ्न नसकेको बक्यौता रकम असुलउपर गर्न सहज भएको बताइएको छ ।
कामपाले गत फागुन ३ मा ‘घरबहाल व्यवस्था निर्देशिका २०७९’ जारी गरिसकेको छ । निर्देशिका अनुसार कुनै पनि घरधनीले घरभाडामा लगाउँदा वा घरखाली गराएकोबारे सूचना सात दिनभित्र वडा कार्यलयमा दिनुपर्छ ।
लिखित सम्झौताको एकप्रति सम्बन्धित वडा कार्यालय, एकप्रति घरधनी र अर्को एकप्रति भाडामा बस्नेले राख्नुपर्ने निर्देशिकामा व्यवस्था छ । सम्झौतामा बहाल रकम, तिर्नुपर्ने मिति, बहाल कायम रहने अवधि र अवधि थपबारे उल्लेख हुनुपर्छ ।