आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपालबहादुर खड्काविरुद्ध पक्राउ पुर्जी जारी



काठमाडौं । नेपाल आयल निगम लिमिटेडका पूर्व कार्यकारी निर्देशक गोपालबहादुर खड्काविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । विशेष अदालतका न्यायाधिशहरु यमुना भट्टराई, बलभद्र बास्तोला र खुसीप्रसाद थारुको संयुक्त इजालसले आज (सोमबार) खड्काविरुद्ध पक्राउ पुर्जी जारी गर्न आदेश दिएको हो ।

उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २३ पुस ०७५ मा १८ करोड रुपैयाँ बढी अकुत सम्पत्ति आर्जन गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो । सो मुद्दा सुनुवाईका लागि खड्कालाई पटक–पटक ताकेता गर्दा पनि उपस्थित नभएपछि पक्राउ गरी इजलासमा हाजिर गराउन आदेश भएको हो ।


अख्तियारले शुरुमा खड्काविरुद्ध पेट्रोलियम पदार्थ भण्डारण गृह निर्माणका लागि चार स्थान (झापा, सर्लाही, चितवन र रुपन्देही)मा जग्गा खरिद गर्दा ठूलो रकम भ्रष्टाचार गरेको आरोपमा छानबिन गरेको थियो । खड्काको नेतृत्वमा निगमले चार स्थानमा ७६ बिघा १४ कठ्ठा जग्गा कूल दुई अर्ब ३३ करोड ४० लाख रुपैयाँमा खरिद गर्ने निर्णय गरेको थियो ।

चलनचल्ती भन्दा तीन गुणा महँगोमा जग्गा खरिदको बिल बनाई धमाधम भुक्तानी गर्न थालेपछि अनियमितता बाहिरिएको थियो । त्यसपछि संसदीय छानबिन समितिले अनुसन्धान गरेपछि भ्रष्टाचार प्रमाणित भएको थियो । सो जग्गा खरिदमा १ अर्ब ६ करोड रुपैयाँ घोटाला भएको संसद्को तत्कालीन उद्योग बाणिज्य तथा श्रमसम्बन्धी उपसमितिले ठहर गरेको थियो ।

जग्गा खरिदमा घोटाला पुष्टि भएपछि खड्कालाई सरकारले बर्खास्त गरेको थियो । तर उनले सर्वोच्च अदालत गएर पद थमौती लिएका थिए । त्यसपछि सरकारले खड्कालाई जिम्मेवारीविहीन बनाएपछि उनले २५ जेठ ०७५ मा पत्रकार सम्मेलन गरेर राजीनामा दिएका थिए ।

खरिद प्रकृया विवादित बनेपछि निगमले दुई अर्ब ५ करोड ६६ लाख रुपैयाँ भुक्तानी गरी ६८ बिघा जग्गाको मात्रै स्वामित्व लिएको छ । अख्तियारले जग्गा खरिदमा भ्रष्टाचार र अकुत सम्पत्ति आर्जनमा खड्काविरुद्ध मुद्दा दायर गरेपनि विशेषले जग्गा खरिदमा ‘क्लिन चिट’ दिएर अकुत सम्पत्ति आर्जनको मुद्दालाई मात्रै अगाडि बढाएको छ ।