२७ वर्षीय सुजनले छेडाए पहिलो पटक जिब्रो



भक्तपुर । भक्तपुरको मध्यपुरथिमि बोडेमा मनाइने जिब्रो छेड्ने जात्रामा २७ वर्षीय सुजन बागश्रेष्ठले शनिबार पहिलोपटक जिब्रो छेडाएका छन् । नाइकेहरूले विभिन्न देवगणको पूजा गरेपछि तेलमा डुबाइराखेको १० इन्च लामो सुइरोले पाँचो गणेशको प्रांगण रहेको पाटीस्थित मञ्चमा उनको जिब्रो छेडिएको हो ।

यसअघि, सुजका बुवा बुद्धकृष्ण बागश्रेष्ठले नौ पटक जिब्रो छेडाएका थिए । यो वर्ष सुजनले जिब्रो छेडाएका हुन् । चैत मसान्तको दिन बोडे महालक्ष्मी मन्दिर प्रांगणमा लिंगो उठाएपछि जिब्रो छेड्ने व्यक्तिले निराहार व्रत बसेर जिब्रो छेडाउने चलन छ ।


जिब्रो छेडाएपछि चन्द्राकारको भ्वाय् अर्थात् महाद्वीप बोकेर टोलटोल घुम्ने र भाँगु टोलमा पुगेर पाँचो गणेश मन्दिरमा जिब्रो छेडेको सुइरो निकालेर महालक्ष्मी मन्दिरमा ठोकेपछि यो जात्रा सम्पन्न हुने परम्परा छ । दैवीशक्तिलाई आधार मानेर प्राचीनकालदेखि नै मनाइँदै आएको बोडेको यो जात्रा नीलबाराही देवगणसँग सम्बन्धित रहेको छ ।

किंवदन्तीअनुसार प्राचीनकालमा बोडेमा नीलबाराहीको दायाँबायाँ बस्ने भूतप्रेत, पिशाच, ख्याक तथा कंकालले बोडेका मानिसलाई धेरै दुःख दिने गर्थे । यो थाहा पाई तान्त्रिक भीमदत्त त्यहाँ आएर तान्त्रिक विद्याअनुसार बोडेभरि पासो राखेर दुःख दिने पिशाचलाई समातेर उसको जिब्रो छेडी बलेको महाद्वीप बोकाएर बोडे घुमाएपछि यो जात्राको परम्परा चलेको हो ।