काठमाडौं । तनहुँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले आफूले मतदाताप्रतिको विश्वास पूरा गर्न अब्बल प्रमाणित गर्न नसकेको स्वीकार गरेका छन् ।
उपनिर्वाचनको मतगणना जारी रहँदा सोमबार साँझा सामाजिक संजालमार्फत जनताको जनादेशलाई शिरोपर गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।
उनले भनेका छन्, ‘सायद, मेरो तपाईंप्रतिको विश्वास पूरा गर्न आफूलाई अब्बल प्रमाणित गर्न सकिनँ, यसले मलाई तपाईंको विश्वास योग्य बनाउन अझ प्रयास गर्नुपर्ने पृष्ठपोषण गरेको छ। तपाईंहरुको जनादेशलाई शिरोपर गर्ने प्रतिवद्धता व्यक्त गर्दछु।’
भट्टराईले पदलाई कहिल्यै प्राथमिकता नराखेको भएपनि जनताको पीडाले आफूलाई सधैं छोइराखेको पनि उल्लेख गरेका छन् । उनले भनेका छन्, हुन त पदलाई मैले कहिल्यै प्राथमिकतामा राखिनँ । पदमा नरहे पनि तपाईंको पीडाले मलाई छोइरह्यो । ठूला आदर्शभन्दा तपाईंको व्यवहारिक समस्या समाधानलाई आदर्श मानेर बीपीको समाजवादबाट प्रेरित भएर चार दशक लामो यात्राका क्रममा तपाईंसँग रहेको हुँ । यसक्रममा पार्टीले मलाई विश्वास गरेर तनहुँ १ को उप निर्वाचनमा उम्मेदवार बनाउँदा तपाईंसँगको निकटताका आधारमा जुन आत्मविश्वासका साथ मैदानमा उत्रिएँ, मैले साथ पनि पाएँ । मलाई विश्वास गरेर सधैं सकारात्मक प्रतिक्रिया र उत्साह दिएर मप्रतिको विश्वास मतमार्फत प्रकट गर्नुहुने तपाईं सबैप्रति आभार प्रकट गर्दछु ।’
उनले आफूलाई विश्वास नगर्नेप्रति पनि आभार प्रकट गरेका छन् । उनले भनेका छन्, ‘चुनावी घरदैलोका क्रममा मेरो विगतप्रतिको तपाईंको विश्वासले धेरै नभए पनि केहीका लागि सानो आशा पैदा गराउन सकेको रहेछु भन्ने कुराले सानो खुशी पनि दिलाएको महसुस गरें । साथै, मप्रति विश्वास नगर्नुहुनेप्रति पनि आभार प्रकट गर्दछु ।’