सुडान द्वन्द्व : दुई सय जनाको मृत्यु, एक हजार आठ सय घाइते



एजेन्सी । सुडानमा केही दिन यता सरकारी सेना र विद्रोही समूहबीच भइरहेको सत्ता संघर्षका कारण मृत्यु हुनेको संख्या १ सय ८५ जना पुगेको छ ।

३ दिनदेखिको लडाईमा १८ सय जना मानिसहरू घाइते भएका छन् । सुडानका लागि संयुक्त राष्ट्रसंघका विशेष प्रतिनिधि भोल्कर पर्थेसका अनुसार सेना र अर्धसैनिक बलबीचको संघर्ष झन नै चर्किदै गएको छ ।


सुडानमा सेनाले नागरिक शासन पुनस्थापना गर्न ढिलाई गरेपछि आर.एस.एफ.ले बलपूर्वक सत्ता कब्जा गर्न खोजेको हो । सोही क्रममा राजधानी खार्तुमका मुख्य प्रशासनिक भवनहरु नियन्त्रणमा लिन दुई पक्षबीच भिडन्त भइरहेको छ ।

सुडानमा अहिले सेनाका प्रमुख अब्देल फतेह अल बुर्हानले शासन गरिरहेका छन् । आर.एस.एफ.को नेतृत्व भने जनरल मोहोमोद हमदान डागालोले गरेका छन् ।

यसैबीच अमेरिकाले सुडानको संघर्ष अन्त्यका लागि युद्धबिराम गर्न आह्वान गरेको छ ।

ह्वाइट हाउसले एक विज्ञप्ति जारी गरेर सुडानमा जारी हिंसाको निन्दा गर्दै लाखौं जनताको जीवन रक्षाका लागि युद्धबिराम गर्न आह्वान गरेको हो ।

सुडानको सैनिक शासनलाई रुसले समर्थन गरेको छ । विद्रोही विपक्षी समूहलाई भने अमेरिकाको समर्थन रहेको छ ।