सुडानबाट बेलायत, जर्मनी र क्यानाडाले आफ्ना नागरिकलाई स्वदेश फर्काउँदै



बेलायत, जर्मनी र क्यानडाले पनि द्वन्द्वग्रस्त सुडानबाट आफ्ना नागरिकलाई स्वदेश ल्याउने व्यवस्था गरेको बताएका छन् । यस पहिले अमेरिका, साउदी अरबलगायतका विश्वका अन्य मुलुकले पनि सुडानबाट आफ्ना कर्मचारी र नागरिकलाई फिर्ता ल्याउन थालिसकेका छन् ।

बेलायतका विदेशमन्त्री जेम्स क्लेभरलीले सुडानबाट बेलायतले आफ्ना दूतावासका कर्मचारीलाई हटाएको र बेलायती नागरिकको सुरक्षा बेलायत सरकारको उच्च प्राथमिकता रहेको बताएका छन् ।


क्लेभरलीले विदेशी कूटनीतिज्ञहरूमाथि बढ्दो धम्कीका कारण बेलायतले सुडानबाट दूतावासका कर्मचारीहरूलाई हटाएको बताएका छन् ।उनले सुडानमा भइरहेको रक्तपात अन्त्यका लागि अन्तर्राष्ट्रिय सहयोग जुटाउन अहोरात्र खटिइरहेको बताए ।

त्यसैगरी, जर्मनीले आफ्ना साझेदारहरूसँगको समन्वयमा सुडानबाट आफ्ना नागरिकलाई उद्धार गर्न सुरु गरेको जर्मनीको रक्षा र विदेश मन्त्रालयले जनाएको छ । त्यस्तै, क्यानाडाले सुडानमा कुटनीतिक गतिविधि अस्थायी रूपमा स्थगन गर्ने घोषणा गरेको छ ।