‘सांसद ढाकाकुमारमाथि छानबिन गर्न अख्तियारमा आफैँ निवेदन दिन्छु’ : लामिछाने



काठमडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सांसद ढाकाकुमार श्रेष्ठमाथि छानबिनका लागि अख्तियारमा उजुरी दिने भएका छन् ।

पार्टीका सभापति एवं चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछानेले सांसद श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड मागिएको अडियो प्रकरणमा जोडिएकाहरुविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिने बताएका हुन् ।


आफ्नो निर्वाचन क्षेत्र चितवनमा चुनावी अभियानका क्रममारहेका लामिछानेले आज (सोमबार) सभामा बोल्दै २ करोड मागिएको काण्डमा अनुसन्धानका लागि अख्तियारमा आफैँले उजुरी दिने बताए ।

घुस मागेको अडियो सार्वजनिक भएपछि रास्वपाले आइतबार मात्र श्रेष्ठलाई पदबाट लिम्बन गरी ७२ घण्टे स्पष्टीकरण सोधिएको छ । अडियो सार्वजनिक दुर्गा प्रसाईंले गरेका हुन् ।

उनले आफ्नो पार्टी अन्य पार्टीजस्तो नभएको भन्दै अडियो सार्वजनिक गर्नेलाई धन्यवाद दिए । भ्रष्टाचारीलाई प्रजा गर्ने, बचाउने चलन आफ्नो पार्टीमा नभएको बताउँदै सभापति लामिछानले भ्रष्टाचारी ठहर भएका जोकसैलाई कठालोमा समातेर सडकमा पछार्ने चेतावनी दिए ।

उनले उपचुनावकै मुखमा अडियो बाहिर आउनुलाई उनले षडयन्त्रको गन्ध भएको भन्दै यसलाई चिरेर अगाडि बढ्नुपर्ने बेला भएको बताए ।