काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले पाँच हजारको हत्याको जिम्मा लिने कुरा नगरेको बताएका छन् । आफूविरुद्धको दायर रिटको सर्वोच्चलाई लिखित जवाफ दिँदै प्रधानमन्त्रीले रिट निवेदन खारेजभागी भएको बताएका हुन् ।
उनले युद्धको अवधिमा भएको जनधनको क्षतिको वास्तविक विवरण अभिलेखमा समेत नभएको भन्दै देशमा युद्धको समयमा १७ हजार मानिसहरू मारिएका बताएका छन् । प्रधानमन्त्रीले जसमध्ये १२ हजार राज्यको तर्फबाट मारिएको र ५ हजारको मृत्यु विद्रोही पक्षबाट भएको थियो भन्ने अनुमानित संख्यालाई आफूले प्रस्तुत गरेको तर, त्यसलाई राजनीतिक विषय बनाइने लिखित जवाफमा उल्लेख छ । उनले भनेका छन्, ‘रिट निवेदनमा उल्लेख भएजस्तो पाँच हजार व्यक्तिको मृत्युको जिम्मेवारी लिएको अवस्था होइन ।’
अधिवक्ता ज्ञानेन्द्र आरणसहितले दायर गरेको रिटमा उनले आफूविरुद्ध दायर भएको रिटको कुनै संवैधानिक र कानुनी आधार नभएकाले खारेज हुनुपर्ने जिकिर गरेका छन् । २०७६ माघ १ गते माघी दिवसको अवसरमा टुँडिखेलमा भएको सार्वजनिक कार्यक्रममा प्रचण्डले पाँच हजारको हत्याको आफूले लिने अभिव्यक्ति दिएका थिए। उक्त अभिव्यक्तिलाई आधार बनाउँदै द्वन्द्वपीडितहरूले मंसिर ४ गतेको निर्वाचनअघि सर्वोच्चमा रिट पेस गरेका थिए। उक्त रिटमा सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले प्रधानमन्त्री प्रचण्डसँग लिखित जवाफ माग गरेका थिए।