समाजमा अराजक गतिविधि बढे, बुद्धिजीविहरुबाट हस्तक्षेप हुनु पर्‍यो : प्रधानमन्त्री



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजमा अराजकता र आवेगलाई प्रश्रय दिने प्रवृत्ति हाबी भएको भन्दै बुद्धिजीविले हस्तक्षेप हुन जरुरी देखिएको बताएका छन् ।

ललितपुरमा आज (शनिबार) आयोजित नरबहादुर कर्मचार्य स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पछिल्लो समय कम्युनिष्ट आन्दोलनमा मात्र नभई देशको समग्र राजनीतिमा र आर्थिक विकासको प्रक्रियामा नै विचार, सिद्धान्त, मूल्य, आदर्शमा विचलन देखिएको दाबी गरे ।


समाजमा देखिएका अराजकताका कारण खतरा पैदा हुने हो कि भन्ने डर पलाएको उनको भनाइ थियो । प्रधानमन्त्री प्रचण्डले गत निर्वाचनमा विचार, सिद्धान्त, मूल्य, मान्यता र आदर्शलाई एजेण्डालाई भन्दा मान्छे सेन्टिमेन्टलाई प्रश्रय दिएकोप्रति दुःख व्यक्त गरे । उनले समाजमा यस किसिमका गतिविधि बढ्दै जाँदा बुद्धिजीविहरुले हस्तक्षेपकारी भूमिका खेल्नुपर्ने बताएका छन् ।

उनले भने, ‘विचारमा विचलन देखापरेको छ । अहिले खाली कम्युनिष्ट आन्दोलनभित्र मात्रै होइन, देशको समग्र राजनीतिमा पनि आर्थिक विकासको प्रक्रियामा पनि विचार, सिद्धान्त, मूल्य, आदर्शबाट विचलनतिर राजनीति जाला कि भन्ने खतरा पैदा भएको छ । भर्खरै गएको निर्वाचनमा पनि विचार, सिद्धान्त, मूल्य, मान्यता र आदर्शलाई एजेण्डालाई भन्दा मान्छे सेन्टिमेन्टलाई, भावनालाई, आवेगलाई अराजकतालाई प्रश्रय दिने प्रवृत्ति बढ्दो देखिन्छ । यस्तो बेलामा बौद्धिक पक्षबाट बुद्धिजीविबाट अलि हस्तक्षेप बढ्न जरुरी छ । वैचारिक बहस चलाउन जरुरी छ ।’

उनले लेख, रचनाहरुतिरहरु भन्दा सोसल मिडिया, युट्युब, टिकटकमा लागेर मानिसहरु क्षणिक उत्तेजना, क्षणिक आवेग र अराजक गतिविधिलाई अंगाल्ने परिपाटी विकसित हुँदै गएको उल्लेख गरेका छन् ।