सभामुखले हत्या अभियुक्त सांसद कोइरी बिरामी भएको बताएपछि…



काठमाडौं । हत्या अभियोगमा प्रहरीको फरार सूचीमा रहेका नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई बिरामी भएको बताएपछि संसद बैठक स्थगित गरिएको छ । बैठकमा अनुपस्थित सांसदहरुकाबारे सूचना दिने क्रममा सभामुख घिमिरेले कोइरी बिरामी भएकाले बैठकमा उपस्थित हुन नसकेको बताएपछि कांग्रेस, माओवादी, रास्वपा, राष्ट्रिय जनमोर्चाका सांसदहरुले आपत्ति जनाएका थिए ।

कांग्रेसका रमेश लेखकले ‘बिरामी’ शब्द रेकर्डबाट हटाउन माग गरे । यसपछि रास्वपाका सभापति रवि लामिछानेले कोइरी बिरामी नभएको र भागेर भारत गएको भन्दै अभियुक्तलाई जोगाउने प्रयास नगर्न सचेत गराए । एमाले सांसद रघुजी पन्तले पनि कुनै पनि अपराधिलाई जोगाउने पक्षमा एमाले नरहेको बताए । तर, सभामुख घिमिरेले लक्ष्मी महतो कोइरी ‘बिरामी’ भएर बैठक अनुपस्थित भएको रेकर्डबाट हटाउन रुलिङ गर्न मानेनन् । यसपछि सांसदहरुले उठेर विरोध जनाइरहे ।


सभामुख घिमिरेले पटक पटक आफ्नो ध्यानाकर्षण भएको जनाउँदै बस्न आग्रह गरे । तर, सांसदहरु बस्न मानेनन् । यसपछि सभामुख घिमिरेले आधा घण्टाका लागि बैठक स्थगित गरेका छन् । अदालतले फौजदारी अभियोगमा लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न आदेश दिएको छ । प्रहरीले उनलाई खोजिरहेको बताउँदै आएको छ ।