सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज



काठमाडौँ । नेपाली क्रिकेट टोलीको पूर्व कप्तान सन्दीप लामिछानेविरुद्ध परेको जबरजस्ती करणीको मुद्दामा अन्तिम सुनुवाइका लागि आज (आइतबार) का लागि पेसी तोकिएको छ । जिल्ला अदालत काठमाडौंमा आइतबार अन्तिम सुनुवाइको पेसी तोकिएको सन्दीपका अधिवक्ता सरोजकृष्ण घिमिरेले जानकारी दिएका छन् ।

निरन्तर पेसीमा रहे पनि अन्तिम सुनुवाइ नहुँदा मुद्दाले किनारा पाउन सकेको छैन । सर्वोच्च अदालतले मुद्दाको फैसला चाँडो गर्नका लागि जिल्ला अदालतलाई आदेश गरेको भए पनि विभिन्न कारणले पेसी स्थगित हुँदै आएको छ । यसअघि किशोरीले अन्तरिम राहत माग गर्दै दायर गरेको निवेदनमा जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले अन्तरिम राहत दिन नपर्ने आदेश सुनाएको थियो । अन्तिम फैसलाबाटै मुद्दा किनार लगाउनुपर्ने भन्दै तत्काल अन्तरिम राहत दिननपर्ने आदेश जिल्ला अदालतले दिएको थियो ।


यसअघि सबै प्रक्रिया पूरा भइसकेको र सर्वोच्च अदालतले पनि फास्ट ट्रयाकमा सुनुवाइ गर्न भनेकाले अन्तिम सुनुवाइ तत्काल टुंग्याउने सम्भावना छ । लामिछानेलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । तर जिल्ला अदालतको आदेश उच्च अदालतले बदर गर्दै सन्दीपलाई २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दियो।

उच्चले काठमाडौं छाड्न अनुमति लिनुपर्ने र विदेश जान प्रतिबन्ध लगाएकोमा सर्वोच्चले प्रतिबन्ध फुकुवा गरेको थियो । पछिल्लो समय बुधबार केशवप्रसाद घिमिरेको इजलासमा सुनुवाइ हुने तय भए पनि अन्तिम समयमा पेसी स्थगित भएको थियो ।