विदेशीको तलुवा चाट्नेलाई सत्ता चलाउने अधिकार छैन् : नेत्रविक्रम चन्द विप्लव



काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले अहिलेको सरकार विदेशीहरुको तलुवा चाटेर आफ्नो देश बेच्न तयार हुने दलालहरुको भएको आरोप लगाएका छन् ।

शनिबार कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उनले समाजवाद सबै जनताको लागि आउने भएकाले नेकपाका पार्टीले मात्रै शासन चलाउन नमिल्ने टिप्पणी गरे ।


उनले भने, ‘समाजवाद आयो भने नेकपाका पार्टीले मात्रै शासन गर्ने होइन । समाजवाद आयो भने हाम्रो पार्टी र हामीसँग मोर्चाबद्ध भएकाले सत्ता चलाउने होइन । समाजवाद सबै जनताको लागि आउने कुरा हो। विदेशीहरुको तलुवा चाटेर आफ्नो देशलाई बेच्न तयार भएर बसेका दलालहरुलाई त्यो अधिकार हुँदैन।’

उनले अहिलेको सरकार पाँच वर्ष नटिक्ने टिप्पणी समेत गरे । सरकार भनेको जनतामाथि मजाक गर्ने साधन नभएको उनको भनाइ छ ।

उनले भने, ‘चुनाव भएको पाँच छ महिना भइसक्यो। खै सरकार नै छैन नि । यो बनेको सरकार पनि कति दिन हो भनेर गन्दै छन् । बाहिर, मिडियामा देखिन्छ यति दिन, यो यता, उ उता भनेर। मन्त्री पाएन भने फेरि अर्कै रे। सरकार भनेको जनतामाथि मजाक गर्ने साधन हो?।’

उनले नयाँ ढंगबाट छलफल गर्न आफूहरु तयार रहेको पनि बताए। अहिले देशको अर्थतन्त्रमा त्यत्ति धेरै समस्या नभएको उनको भनाइ छ ।