रवि लामिछानेको जित निश्चित, गन्न बाँकी भन्दा मतान्तर धेरै



चितवन । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको जित निश्चित भएको छ । गणना हुन बाँकी मतभन्दा उनको मत धेरै भएसँगै जीत पक्का भएको हो ।

यो समाचार बनाउँदासम्म ५६ हजार ४९६ मत गणना भइसकेको छ भने लामिछानेले ४० हजार ६९ मत प्राप्त गरेका छन् । चितवन–२ मा आइतबार भएको उपनिर्वाचनमा ७८ हजार २७७ मत खसेको थियो । अब २१ हजार ७८१ मत मात्र गन्न बाँकी छ ।


तर लामिछानेले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका जितनारायण श्रेष्ठसँग मतान्तर ३२ हजार ६१२ बनाइसकेका छन् अर्थात् गन्न बाँकी मतभन्दा मतान्तर बढी भइसकेको छ । यस हिसाबले रास्वपा सभापति लामिछानको जित पक्का भइसकेको छ ।

श्रेष्ठले अहिलेसम्म ७ हजार ४ सय ५७ मत ल्याएका छन् भने नेकपा एमालेका रामप्रसाद न्यौपानेले ७ हजार २ सय ६८ मत प्राप्त गरेका छन् । भरतपुर महानगरपालिकाका क्षेत्र नं २ मा पर्ने १० वटै वडा र इच्छाकामना गाउँपालिकाको मतगणना सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिए । हालसम्म ८ सय ७० मत बदर भएका छन् । उनका अनुसार कालिका नगरपालिकाको मतगणना सुरु भएको छ ।