मोटरसाइकल दुर्घटनामा बालकको मृत्यु, दुई घाइते



कञ्चनपुर । कञ्चनपुरको दैजी–बेल्डाडी सडक खण्डमा सोमबार मोटरसाइकल दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ ।

बेल्डाडीबाट महेन्द्रनगरतर्फ आइरहेको सुपप्र ०२–००३ प ४६७१ नम्बरको मोटरसाइकल बेदकोट १० मा नालामा खस्दा दुर्घटना भएको हो ।


जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले दुर्घटनामा परी बेल्डाडी गाउँपालिका–४ का अमरबहादुर ठकुरीका अन्दाजी आठ÷नौ वर्षीय छोरा इस्बन्धन ठकुरीको मृत्यु भएको बताए ।

दुर्घटनामा परी मोटरसाइकल चालक टेकेन्द्रप्रसाद भट्ट र बाह्र वर्षीय अर्चना जोशी घाइते भएका छन् । घाइतेमध्ये गम्भीर अवस्थामा रहेकी बालिकालाई थप उपचारका लागि महाकाली प्रादेशिक अस्पतालले धनगढी रिफर गरेको प्रहरीले जनाएको छ ।

“घटनाको विस्तृतमा अनुसन्धान हुँदैछ ।” प्रवक्ता डाँगीले भने, “अर्धचेत अवस्थामा रहेका घाइते मोटरसाइकल चालकको महाकाली अस्पतालमै उपचार हुँदैछ ।” प्रहरीका अनुसार मृतक बालकको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ ।