मुगुमा पहिलो पटक ‘कोर्ट म्यारिज’



मुगु । मुगुमा पहिलो पटक अदालती विवाह (कोर्ट म्यारिज) भएको छ । यसअघि परम्परा, धर्म, संस्कृति तथा रीतिरिवाजअनुसार विवाह हुँदै आएकोमा पहिलो पटक अदालतीमार्फत कानुनी प्रक्रिया पूरा गरी विवाह भएको हो ।

सोरु गाँउपालिका–७ सिपगाँउका ७० वर्षीय प्यारीलाल काफ्ले र खत्याड गाँउपालिका-४ जिउका गाँउका ४२ वर्षिय जानकी रोकायाबीच आज जिल्ला अदालत मुगुमा विवाह भएको हो । आफूहरूबीच २८ वर्षको फरक भए पनि आफू कसैको दबाब तथा लोभमा नपरेको जानकी रोकायाले बताइन् । 


विवाहको कानुनी प्रक्रिया पूरा गरी जिल्ला न्यायाधीश दिलकुमार वर्देवाले विवाहित जोडीलाई प्रमाणपत्र प्रदान गरे । न्यायाधीश वर्देवाले जिल्लामा पहिलो पटक अदालती विवाह भएको जानकारी दिए । 

काफ्लेकि श्रीमतीको २०७७ असोज १८ मा निधन भएको थियो भने रोकायाले गत पुस ४ मा श्रीमानसँग सम्बन्धविच्छेद गरेकी थिइन् । दुवै जनाको सहमति र साक्षीहरुको उपस्थितीमा अदालती विवाह सम्पन्न भएको जिल्ला अदालत मुगुका श्रेष्तेदार गोविन्द आचार्यले बताए । 

सत्तरी वर्षको उमेरमा अदालती विवाह गरेपछि गमगढी बजारमा नयाँ जोडी हेर्नेको भिड लागेको थियो ।