मन्त्रिपरिषदलाई आइतबार पूर्णता दिने प्रधानमन्त्रीको तयारी



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भोलि (आइतबार) मन्त्रिमण्डललाई पूर्णता दिने तयारी गरेका छन् । प्रधानमन्त्रीले सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरे पनि सरकारले पूर्णता पाउन सकेको छैन । प्रधानमन्त्रीसँग अझै ६ मन्त्रालय छन् ।

मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा शनिबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीसँग छलफल गरेका छन् । तर एकीकृत समाजवादीले थप एक मन्त्रालय माग गरेपछि सत्तारूढ तीन दलका शीर्षसहितका नेताहरुको छलफल बिना निष्कर्ष टुङ्गिएको छ । आजै बेलुका फेरि बैठक बस्ने गरी तीन नेता छुटिएका छन् । यसअघि एकीकृत समाजवादीबाट उपाध्यक्ष वेदुराम भुसाल कृषि तथा पशुपंक्षी विकास र उपमहासचिव प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायातमन्त्री भइसकेका छन् ।


बिहानको बैठकमा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत यी दलका नेताहरु सहभागी थिए । छलफलमा कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा पनि सहभागी थिए । यस्तै समाजवादीबाट महासचिव घनश्याम भुसाल र किसान श्रेष्ठ पनि उपस्थित थिए । विहान छलफलमै बसेको टोली साँझ फेरि बस्ने जनाइएको छ ।