मतदान स्थल र केन्द्रमा निर्वाचन सामग्री पठाउन सुरु



काठमाडाैं । जिल्ला निर्वाचन कार्यालय तनहुँले वैशाख १० गते तनहुँ–१ मा हुने उपनिर्वाचनको लागि बिहीबारदेखि मतदान स्थल र मतदान केन्द्रमा निर्वाचन सामग्री पठाउन सुरु गरेको  छ । दुई नगरपालिका व्यास, भानु र तीन गाउँपालिका बन्दीपुर, आँबुखैरेनी र देवघाट गरी पाँच  पालिकामा रहेका ६९ मतदान स्थलका १५२ मतदान केन्द्रका लागि सामग्री पठाइएको हो ।

मतदाता नामावली, मतपेटिका, छेका बारा, रबर म्याट, सुरक्षण सिल, स्वस्तिक छाप, स्टाम प्याड, स्टाम प्याड मसी, पर्मानेन्ट मार्कर, मार्कर पेन, स्केल मेटल पठाइएको हाे । यसरी कैँची, ग्लुस्टिक, पञ्चिङ मेसिन, प्लास्टिक थैलो, प्लास्टिक बोरा, दुई मिटर कोरा कपडा, कोरा कपडाको थैलो, लाहा लगायत ६२ प्रकारका सामग्री वितरण गरिएको छ ।


आज शुक्रबारसम्म सबै केन्द्रमा खटिएका कर्मचारीलाई मतदान सामग्री बुझाइ सकिने निर्वाचन कार्यालयले जनाएको छ । टाढा मतदान केन्द्र भएको स्थानमा भने बिहीबार नै निर्वाचन सामग्री पठाइएको हाे । केन्द्रका लागि मतदान एक जना अधिकृत र सहायक मतदान अधिकृत, दुई जना सहायक कर्मचारी र एक जना कार्यालय सहयोगी गरी सात सय ६० जना कर्मचारी खटाइएको छ ।