बर्दिबासका इनार सुके, पिउने पानीको हाहाकार



महोत्तरी । महोत्तरीको बर्दिबास पशुपतिनगरका किसुन्देव महतो आफ्नो घर नजिकैको इनार सुकेपछि खानेपानी लिन दैनिक एक किलोमिटर ओहोरदोहोर गर्दछन् । इनारकै भरमा खेतीपातीसमेत गर्दै आएका महतोले हिजोआज तरकारी मात्र हैन पानीकै अभावले अन्य खेतीपाती समेत गर्न पाएका छैनन् ।

पानीको समस्या समाधान नगरेपछि उनी जनप्रतिनिधिप्रति आक्रोशित छन् । ‘पानी खुवाउने विषयलाई नै एजेण्डा बनाएर चुनाव जितेका जनप्रतिनिधिको कार्यकाल पनि एक वर्ष हुन लागिसक्यो । तर, खानेपानीको व्यवस्था गर्ने योजनासमेत उनीहरूले भुले,’ महतोले गुनासो गरे । किसुनदेव महतोको जस्तै पशुपतिनगरका यतिबेला धेरै स्थानीयहरूलाई पानी कता पाइन्छ भन्ने चिन्ता थपिँदै गएको छ । झन्डै ६ हजार जनसङ्ख्या भएको पशुपतिनगरमा १५० को हाराहारीमा इनार छन् ।


तर, लामो समयसम्म खडेरी पर्दा आधाभन्दा बढी इनारहरू सुकिसकेका छन् । बाँकी रहेका इनारहरू पनि धमाधम सुकिरहेको स्थानीयहरू बताउँछन् । पानीको चरम समस्या बढिरहँदा पनि स्थानीय सरकारले खासै ध्यान नदिएको उनीहरूको गुनासो छ । ‘निर्वाचनमा जनप्रतिनिधिहरूले जनाएको प्रतिबद्धता सबै भुले जसले गर्दा नेताहरूप्रतिको अविश्वास बढ्दै गएको छ,’ स्थानीय राममुरत महतोले भने ।

खानेपानीको मुख्य आधार मानिएको इनारहरू नै धमाधम सुक्न थालेपछि विकल्पहरूको विषयमा खोजी नहुँदा स्थानीयहरू आत्तिन थालेका छन् । नेपाली कांग्रेसबाट बागी बनेर स्वतन्त्रको नाममा जितेकी उपमेयर यसै वडाकी हुन् भने वडा अध्यक्षमा लोसपावाट घुरन महतोले जितेका हुन्  ।

साविकको वडा न.४ राख्याल टोलमा एउटा इनारको मुहान छ । जहाँबाट वरपरका बस्तीका लागि पाइपलाइन बिछ्याएर पानी ल्याउन सक्ने आधारहरू भए पनि सरोकारवाला निकायको बेवास्ताले समस्या थप बन्दै गएको राममुरतले बताए ।

बजरङ्ग जल उपभोक्ता समितिले सञ्चालन गरेको पशुपतिनगरकै झोक्ले टोलमा अन्य इनारको तुलनामा पानी कम सुक्ने गर्छ । अहिले यहाँका स्थानीयहरूले यहीँ  पानी उपभोग गरिरहेका छन् ।  अन्य ठाउँका स्थानीयहरू यहाँ आइपुग्न ३ किलोमिटरसम्म हिँड्नुपर्ने हुन्छ । पशुपतिनगरमा  माघदेखि इनार सुक्न थालेपछि धेरैजसो किसानहरूलाई सिँचाइको झन् ठूलो समस्या बन्दै गएको देवकुमार सिंह बताउँछन् ।

सिँचाइको समस्या बन्दै गएपछि किसान खेतीबाट पलायन हुनुपर्ने अवस्था सिर्जना बन्दै गएको छ । साविकको वडा न.४ मा रहेको इनारबाट पाइपलाइन बिछ्याएर वितरण गर्ने भनिएको योजना १० वर्ष बितिसक्यो । यो वडामा रहेका चार वटा बोरिङलाई चलाउन सकिएमा पनि केही हदसम्म पानीको समस्या समाधान हुने स्थानीय बताउँछन् ।

देवकुमार सिंहका अनुसार पूर्व नगरप्रमुख विदुर कार्कीले घर–घरमा पानी पुर्‍याउने उद्देश्यले  २८ लाख विनियोजित गरेका थिए । ‘तर कहाँ, कसरी काम भयो भन्ने समेत थाहा पाउन सकिएन,’ उनले भने । पशुपतिनगरमा पानी नसुक्ने इनार ब्रह्माथानको इनार बनेको छ । वरपरका स्थानीयले दुःख गरेर भए पनि यही इनारलाई प्रयोग गरिरहेको जलेश्वरी महतो बताउँछिन् ।