फेवा किनारमा ‘१८औँ फेवा नववर्ष महोत्सव’ सुरु



गण्डकी । नयाँ वर्ष २०८० को छेकोमा पोखराको फेवा किनारमा ‘१८औँ फेवा नववर्ष महोत्सव’ सुरु भएको छ । होटल सङ्घ पोखराद्वारा आयोजित महोत्सवको बुधबार पोखरा महानगरका प्रमुख धनराज आचार्यले उद्घाटन गरे ।

कोभिड–१९ महामारी, आर्थिक सङ्कटजस्ता कारणबाट शिथिल बनेको पर्यटन व्यवसायलाई उकास्ने उद्देश्यले महोत्सव आयोजना गरिएको होटल सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले बताए ।


“पर्यटक भित्राउन, संस्कृति देखाउन र स्थानीय खानाको स्वाद चखाउन महोत्सव आयोजना गरिएको हो”, उनले भने “पोखराको पर्यटन प्रवद्र्धनमा नववर्ष महोत्सवले महत्वपूर्ण टेवा पुर्याउँदै आएको छ ।”

महोत्सवको मुख्य ‘थिम’ नै पर्यटन, संस्कृति र खाना रहेको छ । लेकसाइडको फिस्टेल गेटदेखि हल्लनचोकसम्मको सडकमा वैशाख १ गतेसम्म महोत्सव चल्नेछ । महोत्सवको अवसरमा पोखराका व्यवसायीले होटलमा २० प्रतिशत छुटको व्यवस्था गरेका छन् ।

महोत्सवले पर्यटकीय गतिविधि बढ्ने विश्वास आयोजकले लिएको छ । पछिल्लो समय पर्यटक आगमन घटेपछि व्यवसायी चिन्तित छन् । महोत्सव अवधिभभर विभिन्न सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत हुनेछ ।