फरार सांसद कोइरीको बिरामी विदा अस्वीकृत



काठमाडौं । प्रतिनिधिसभाबाट एमालेका फरार सांसद लक्ष्मी कोइरी महतोको बिरामी बिदा अस्वीकृत भएको छ ।

कोइरीले आफू बिरामी भएको भन्दै संसद सचिवालयलाई पत्र पठाएअनुसार सभामुखले शुक्रबारको पहिलो बैठकमा पढेर सुनाउँदै स्वीकृत गर्न लागेपछि विवाद भएको थियो । त्यस क्रममा एमालेबाहेकका सांसदहरुले होहल्ला गरेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गर्नुपरेको थियो ।


पछि दलहरु र सभामुखबीच भएको छलफलमा कोइरीको बिदा अस्वीकृत गर्ने समझदारी बनेपछि राति १० बजे बसेको प्रतिनिधिसभाको बैठकमा सभामुखले यसबारे जानकारी गराएका हुन् ।

उनको बारेमा सभामा विभिन्न विषय उठेकाले यसबारे प्रतिनिधिसभाको आगामी अधिवेशनमा कानुन बमोजिम हुने सभामुखले सदनलाई जानकारी गराए । सभाले मनोरमा शेरचन, बीना कुमारी थनेत, चन्द्रकान्त भण्डारी, वर्षमान पुनको बिरामी बिदा भने स्वीकृत गरेको छ ।