काठमाडौं । आज बसेको लगानी बोर्डको ५३औँ बैठकले विभिन्न पाँचवटा जलविद्युत् आयोजनाका लागि एक खर्ब ६७ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ । आज स्वीकृत भएकामध्ये एक खर्ब ४६ अर्ब रुपैयाँ वैदेशिक र २१ अर्ब रुपैयाँ स्वदेशी लगानी हो ।
लगानी बोर्डको आजको बैठकले तल्लो अरुण जलविद्युत् परियोजनाको मात्रै ९२ अर्ब ६८ करोड रुपैयाँ लगानी स्वीकृत गरेको लगानी बोर्डको कार्यालयका प्रवक्ता अमृत लम्सालले जानकारी दिए । भारतीय कम्पनी सतलज जलविद्युत् निगमले बनाउन लागेको तल्लो अरुणमा परियोजना विकास सम्झौता (पीडीए) गर्नका लागि दस्तावेज तयार पार्न लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा वार्ता समितिसमेत गठन गरिएको छ ।
बोर्डको आजको बैठकले एक सय दुई मेगावाट विद्युत् उत्पादन क्षमताको माथिल्लो मस्र्याङ्दी–१ परियोजनाका लागि ३३ अर्ब १९ करोड रुपैयाँ र ७० मेगावाट उत्पादन क्षमताको दूधकोशी-२ (जलेश्वर) जलविद्युत् परियोजनाका लागि २० अर्ब ३५ करोड रुपैयाँ बराबर लगानी स्वीकृत गरेको छ ।
त्यसैगरी, ७० दशमलव तीन मेगावाट उत्पादन क्षमताको सिम्बुवा खोला जलविद्युत् परियोजनाका लागि १३ अर्ब ४४ करोड रुपैयाँ र ४३ मेगावाट उत्पादन क्षमताको अप्पर मादीखोला जलविद्युत् आयोजनाका लागि सात अर्ब ९३ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत भएको छ ।
आजको बैठकले रासायनिक मल कारखाना स्थापनाका सम्बन्धमा अध्ययन अनुमतिका लागि पेस भएको प्रस्तावअनुसार विकासकर्ता कम्पनीसँग गरिने समझदारीपत्रको मस्यौदालाई पनि स्वीकृत गरेको छ । त्यस्तै, ग्रिन क्याल्सियम एमोनियम नाइट्रेट मल उत्पादन गर्न अध्ययन अनुमतिपत्रका लागि मलेसियाको रेनिकोला होल्डिङ्सको प्रस्तावलाई स्वीकृत दिने निर्णयसमेत भएको छ ।
डाबर नेपालको पूँजी तथा क्षमता वृद्धिका लागि गरिने समझदारीपत्रको मस्यौदा पनि आजको बैठकले स्वीकृत गरेको छ । पश्चिम सेती र सेती नदी–६ जलविद्युत् परियोजनाको विकासका लागि भारतीय कम्पनी एनएचपीसी लिमिटेडसँग भएको समझदारीपत्रका व्यवस्थाअनुसार प्रारम्भिक अध्ययन प्रतिवेदन तयार पार्न विकासकर्ता कम्पनीले गरिरहेको कामबारे पनि बोर्डले जानकारी लिएको छ ।
त्यस्तै, बोर्डमा तमोर जलाशययुक्त जलविद्युत् परियोजना र भेहिकल म्यानुफ्याक्चरिङ एसेम्बली प्लान्टको प्रगतिबारे पनि छलफल भएको जनाइएको छ ।