नख्खु सडक अब केही दिनमै सम्पन्न हुने



काठमाडाैं । लामो समयसम्म सडक अलपत्र हुँदा धेरै नागरिकले दुःख पाएको नख्खु उकालोको सडक अब केही दिनमै सम्पन्न हुने भएको छ । पाँच वर्ष पहिले नख्खु–बुङमती सडक विस्तार सुरु भएकामा अरु खण्डमा सकिए पनि प्रवेशबिन्दुको रुपमा रहेको नख्खु उकालोमा सडक अलपत्र रहेको थियो । पछिल्लो समय खानेपानीको पाइपका कारण कालोपत्र हुन नसकेकोमा त्यो व्यवस्थापन सकाएर कालोपत्र गर्न लागिएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ ।

अबको केही दिनमा नै काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले पाइपको काम सकाउने र त्यसपछि सडक कालोपत्र गरिने आयोजनाका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिनुभयो । नख्खु उकालोमा अहिले खानेपानीको पाइपको काम अन्तिम चरणमा रहेको छ । लिमिटेडले अहिले कनेक्सन (पाइप जोड्ने) काम गरिरहेको र अबको चारपाँच दिनमा सकाउने सूचना अधिकारी जोशीले बताए ।


उनले भने, ‘उकालोको काम यो महिनाभित्र सकाउने लक्ष्य छ ।’ लिमिटेडले अहिले रात दिन खटिएर निरन्तररुपमा पाइप व्यवस्थापनको काम गरिरहेको सूचना अधिकारी जोशीले जानकारी दिनुभयो । पाइपको काम मसिनो हुने र थोरै काम देखिए पनि प्रत्येकलाई पाइपलाई जोडेर गर्नुपर्ने हुँदा समय लागेको हो । उनले भने, ‘मुख्य पाइपको काम भइसकेको छ र चार पाँच दिनमा घरघरमा कनोक्सन दिने काम हुनेछ ।’ भैँसेपाटीबाट बुङमतीको खण्डमा पनि चैतसम्म सकाउनुपर्ने उनको भनाइ छ । सो खण्डमा अहिले लिमिटेड, नेपाल टेलिकमलगायतका अरु निकायले पनि काम गरिरहेको हुँदा अलि ढिला हुन गएको छ ।