दुर्घटना न्यूनीकरण गर्न दिक्तेलमा ‘जेब्राक्रस’ तथा ‘स्पिड ब्रेकर’ निर्माण शुरु 



खोटाङ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारका विभिन्न ठाउँमा पैदल यात्रु आवतजावत गर्ने स्थाल् (जेब्रा क्रस) तथा तीव्र गति नियन्त्रण गर्ने स्थाल् (स्पिड ब्रेकर) निर्माण शुरु गरिएको छ । बढ्दो सवारी चापका कारण हुन सक्ने दुर्घटनालाई न्यूनीकरण गर्ने उद्देश्यका साथ दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका र जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङको सहकार्यमा ती काम थालिएको गरिएको हो । 

दिक्तेल बजारस्थित किराँत चोकमा सोमबार जेब्रा क्रसको रेखा कोरेर कामको शुरुवात गरिएको छ । नगरपालिकाको नौँ लाख ९३ हजार ८०७ मा सम्पन्न हुने जेब्रा क्रस तथा स्पिड ब्रेकर कार्यक्रमको शुभारम्भ नगर प्रमुख तीर्थराज भट्टराई, प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाई र प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले संयुक्तरुपमा जेब्रा क्रसको रेखा कोरेर गरेका हुन् ।


आगामी असार मसान्तसम्म सम्पन्न गर्नेगरी नगरपालिकाबाट स्वीकृत भएको ‘होम्स तथा सडक मर्मत कार्यक्रम’ अन्तरगत दिक्तेल बजारका विभिन्न १६ ठाउँमा स्पिड ब्रेकर तथा दश ठाउँमा जेब्रा क्रस निर्माण गर्नुपर्ने सम्झौतापत्रमा उल्लेख छ । सजीव निर्माण सेवा कम्पनी खोटाङले कोटेशनमार्फत जिम्मा लिएको कार्यक्रम अन्तरगत अल्छेढुङ्गा–अस्पताल चोक सडकखण्डमा कजवेसमेत निर्माण गर्नुपर्ने जनाइएको छ । 

सम्झौता अनुसार विभिन्न दश ठाउँमा स्पिड ब्रेकरको कामसमेत शुरु गरिएको कम्पनीका प्रतिनिधि श्यामकुमार पौडेलले जानकारी दिए। ढलानको काम भइरहेको दिक्तेल बजारको सडकमा स्पिड ब्रेकर तथा जेब्रा क्रस नहुँदा यसअघि पटक–पटक दुर्घटना हुँदै आएको छ । 

सवारी सञ्चालन गर्दा तीव्र गतिका कारण हुन सक्ने सम्भावित दुर्घटनालाई न्यूनीकरण गर्ने उद्देश्यले स्पिड ब्रेकर तथा जेब्रा क्रस बनाउन नगरपालिकाको तर्फबाट आर्थिक एवम् प्राविधिक सहयोग गरिएको नगर प्रमुख भट्टराईले जानकारी दिएका छन्।