दार्चुलाका विद्यालयमा समयमै पाठ्यपुस्तक



खलङ्गा । दार्चुलामा यस वर्ष शैक्षिक सत्र सुरुवातसँगै नौवटै स्थानीय तहमा पाठ्यपुस्तक उपलब्ध भएका छन् ।

विगत वर्षमा शैक्षिक सत्र सकिनै लागेका बेला विद्यार्थीले पुस्तक पाउने अवस्था थियो । यस वर्ष भने उनीहरुले समयमै किताब पाउने भएका छन् ।


धेरैजसो स्थानीय तहमा पाठ्यपुस्तक पुगिसकेको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख जयराज पन्तले जानकारी दिए । जिल्लाका दुर्गम गाउँका विद्यालयमा पनि विद्यार्थी भर्ना भएसँगै पुस्तक वितरण गरिने उनले बताए । समयमा नै पुस्तक पुगेपछि यहाँका विद्यार्थी, शिक्षक तथा अभिभावकमा खुसी छाएको छ ।

केही दिन अघि शिक्षा विकास तथा समन्वय इकाइमा बसेको विद्यालयका प्रधानाध्यापक र स्थानीय तहका शिक्षा शाखा प्रमुखको बैठकले जिल्लामा वैशाख पहिलो हप्तासम्म पाठ्यपुस्तक उपलब्ध गराउने गरी काम गर्न निर्देशन दिएको थियो ।