तनहुँ १ उपनिर्वाचन : स्वर्णिम र सर्वेन्द्रले भोट हाल्न नपाउने



दमौली । तनहुँ क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन जारी छ ।

सो निर्वाचन क्षेत्रमा मुख्य प्रतिस्पर्धी मानिएका नेकपा एमालेका सर्वेन्द्र खनाल र रास्वपाका डा. स्वर्णिम वाग्लेले मतदान गर्न नपाउने भएका छन्।


नेकपा एमालेका उम्मेदवार खनाल र रास्वपाका उम्मेदवार वाग्लेको तनहुँ जिल्लामा मतदाता नामावलीमा नाम नभएकाले मतदान गर्न नपाउने भएका हुन् ।

नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले भने व्यास नगरपालिका–११ बेल्टारीस्थित तनहुँ आधारभूत प्रावि मतदान केन्द्रबाट मतदान गरेका छन् ।

बिहान ७ बजेदेखि सुरु भएको मतदान शान्तिपूर्ण रुपमा भइरहेको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ । मतदान साँझ ५ बजेसम्म चल्ने छ । उपनिर्वाचनका लागि तनहुँ क्षेत्र नम्बर १ मा एक लाख २३ हजार ३५० मतदाता छन् ।