ज्यापू महागुथि र बाजा संरक्षणलाई कामपाले दियो एक करोड ७२ लाख



काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ज्यापू महागुथि र गुँला बाजा संरक्षण तथा व्यवस्थापन सङ्घअन्तर्गतका ८६ समूहलाई रु एक करोड ७२ लाख अनुदान रकम उपलब्ध गराएको छ ।

आज यहाँ भएको कार्यक्रममा कामपा प्रमुख बालेन्द्र साहले ६३ ज्यापू महागुथिअन्तर्गत परम्परागत टोल र गुँला बाजा संरक्षण तथा व्यवस्थापन सङ्घअन्तर्गतका २३ समूह प्रत्येकलाई रु दुई लाखका दरले अनुदान रकमको चेक हस्तान्तरण गरेका हुन् । प्रमुख साहले नदी सभ्यता र काठमाडौँवासीका परम्परागत चालचलनका बीचमा स्वभावले नै अभिन्न सम्बन्ध रहेको बताए ।


नदी सभ्यतालाई छुट्याएर काठमाडौँवासीका सांस्कृतिक क्रियाकलापको निरन्तरता अधुरो रहने हुनाले नदी सभ्यता जस्ता प्राकृतिक सम्पदा र सांस्कृतिक, सामाजिक संस्कृतिलाई सँगै संरक्षण गर्नुपर्ने उनले बताए । उनले भने, ‘अनुदान रकम कम भए पनि यसलाई गुथि, खलका प्रतिनिधिले प्रोत्साहनका रूपमा ग्रहण गर्नुभयो ।’

उपप्रमुख सुनिता डङ्गोलले सांस्कृतिक सम्पदाको संरक्षण राजनीतिक विषयभन्दा माथि रहेको बताइन् । सामाजिक व्यवस्थापन र पहिचानका लागि सांस्कृतिक क्रियाकलापको महत्त्वलाई कामपाले नीति र कार्यक्रममा समेट्ने उनले विश्वास दिलाइन् ।

काठमाडौँका संस्कार र संस्कृति बचाए मात्र महानगर सांस्कृतिक सहर हुनेमा आफू सचेत रहेको भन्दै सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सङ्गतले बाद्यवादन, पर्व, संस्कार र संस्कृति बचाउने नीति कार्यक्रमलाई महानगरले कहिल्यै नछोड्ने बताए ।