‘जनकपुरधाम मेयर कप टि–२०’ क्रिकेट प्रतियोगिता सुरु



जनकपुरधाम । आजदेखि यहाँ ‘जनकपुरधाम मेयर कप टि–२०’ क्रिकेट प्रतियोगिता सुरु भएको छ । जनकपुरधाम उपमहानगरपालिकाको आयोजनामा सुरु भएको प्रतियोगिताको समन्वय जिल्ला क्रिकेट सङ्घ धनुषा तथा सहयोग फ्याक्ट नेपाल र एनएमबि बैंकको रहेको छ ।

जनकपुरधाम–१४ रजौलस्थित निर्माणाधीन राम–जानकी क्षेत्रीय अन्तर्राष्ट्रिय बहुउद्देश्यीय रङ्गशालामा सुरु भएको प्रतियोगिता आगामी वैशाख १ गतेसम्म चल्ने छ । लिग प्रणालीमा खेलाइने प्रतियोगितामा मधेस प्रदेशका धनुषा, महोत्तरी, सिरहा, सप्तरी, सर्लाही, रौतहट, बारा तथा पर्साका टोलीका साथै कोशी, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका गरी १२ टोलीको सहभागिता रहने जिल्ला क्रिकेट सङ्घले जनाएको छ ।


प्रतियोगिताका विजेतालाई रु दुई लाख ५१ हजार, शिल्ड तथा प्रमाणपत्र तथा उपविजेतालाई रु एक लाख ५१ हजार, शिल्ड तथा प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगिताको उद्घाटन कार्यक्रममा नगरप्रमुख मनोजकुमार साहले अन्तर्राष्ट्रिय रङ्गशालाको निर्माण गरी विसं २०८३ मा हुने ११औँ राष्ट्रिय खेलकुदका प्रतियोगिताका कार्यक्रम जनकपुरधाममा नै हुने गरी काम गरिने बताए । वक्ताहरूले रङ्गशालालाई मधेस प्रदेशको गौरवको योजना घोषणा गरी तीन तहका सरकारले बजेटको सुनिश्चितता गर्नुपर्नेमा जोड दिएका थिए ।