चौतारा साँगाचोकगढीस्थित कृष्ण मन्दिर पुनःनिर्माण तीव्र



सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका–५ स्थित एकसय १४ वर्ष पुरानो कृष्ण मन्दिर पुनःनिर्माण तीव्र गतिमा अगाडि बढेको छ । विसं २०७२ वैशाख १२ मा गएको भूकम्पले क्षति भएको चौतारा पुरानो बजारस्थित कृष्ण मन्दिर सातवर्ष पुनःनिर्माण सुरु गरिएको हो ।

पुरातत्व विभाग काठमाडौँले बजेट विनियोजन गरेपछि निवर्तमान सभामुख अग्निप्रसाद सापकोटाले गत फागुन १२ गते मन्दिरको शिलान्यास गरेको थियो । विसं २०६४ मा निर्माण गरिएको उक्त मन्दिर पुरानै ढाँचामा बन्ने भएको छ । रू एक करोड ३० लाखमा मन्दिर पुनःनिर्माण हुने स्थानीय सुरेश कसजूले जानकारी दिए। मन्दिर असार मसान्तसम्म सम्पन्न गर्ने गरी सम्झौता भएको निर्माण कम्पनीका शिल्पकार सुरज शिल्पकारले जानकारी दिए ।