चौतर्फी प्रहार र लाञ्छनाको जवाफ चितवनले दिएको छ : रवि लामिछाने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चौतर्फी प्रहार र लाञ्छानाको जवाफ चितवन-२ ले दिएको बताएका छन ।

फराकिलो मतअन्तरले बिजयी भए पछि लामिछानेले जिम्मेवारी थपिएको जनाउँदै सत्कर्मले विश्वासको गुन तिर्ने प्रतिबद्धतासमेत जनाएका छन् ।


आइतबार सम्पन्न उपनिर्वाचनमा चितवन क्षेत्र नं २ बाट भारी मतले निर्वाचित भएका लामिछानेले सामाजिक सञ्जालमार्फत मतदातालाई धन्यवाद दिदै मुलुकलाई समृद्ध बनाउने अभियानका अबरोध तोड्न इमानका साथ लागिरहेने बताएका छन् ।

उनले लेखेका छन्‘चितवन– २ सहित देशैभर गर्नुपर्ने काम धेरै छन्। तपाईंहरुकै भर र समर्थनमा विशेषतः राजनीतिलाई भूइँमान्छेसँग जोड्न र मुलुकलाई समृद्ध बनाउने अभियानका अबरोध तोड्न इमानका साथ लागिरहेने छु,’ मतदातालाई धन्यवाद दिदै लामिछानेले भनेका छन, ‘चौतर्फी प्रहार र लान्छनाको जवाफ चितवन–२ का मतदाताले दिनुभएको छ।’

उपनिर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टीप्रति व्यक्त भएको जनमतले थप गम्भीर, जिम्मेवार र नागरिक मैत्री बन्न उत्प्रेरित गरेको उनको भनाई छ । व्यक्तिगत प्रतिशोधका लागि मतदाताको विवेक र जनमतको धज्जी उडाउने खालका टिप्पणी नगरिदिन प्रतिस्पर्धी दलका उम्मेदवार र तिनका कार्यकर्ता समक्ष लामिछानेले आग्रह गरेका छन्।

लामिछानेले यसअघि मंसिर ४ को आम निर्वाचनको मतपरिणामलाई ब्रेक गर्दै ५४ हजार १७६ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ११ हजार २१४ मत प्राप्त गरे भने नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपाने १० हजार ९३६ मत पाए ।