चिनियाँ सैन्य विमान ताइवानमा



ताइवानी राष्ट्रपतिले अमेरिकी सभामुखलाई भेटेपछि आक्रोशित बनेको चीनले अहिले ताइवानलाई घेरा हाल्ने प्रयास गरिरहेको छ ।

ताइवानी मिडियाले शनिबार ७१ चिनियाँ सैन्य विमान र ९ जहाज ताइवान सीमा वरपर देखा परेको दाबी गरेको छ । ताइवानको राष्ट्रिय रक्षा मन्त्रालयका अनुसार ४५ वटा विमान पनि ताइवानको आकाशमा प्रवेश गरेको छ ।


न्यूज एसिया च्यानलका अनुसार ताइवानको रक्षा मन्त्रालयले शनिबार निगरानी गरिरहेको चिनियाँ विमानमा जे-१०, जे-११, र जे-१६ लडाकु विमानहरू, सियान बाइ-२० यातायात विमान, एच-६के रणनीतिक बमवर्षक र केजे-५०० प्रारम्भिक चेतावनी विमान समावेश भएको जानकारी दिएको छ।

चीनले शुक्रबार ताइवान वरिपरि तीन दिने सैन्य अभ्यासको घोषणा गरेको छ । ताइवानी राष्ट्रपति साई इङ वेनले अमेरिकी प्रतिनिधिसभाका सभामुख केभिन म्याकार्थीलाई भेटेपछि यो अवस्था आएको हो ।

चीनको सैन्य विमान र जहाजहरू ताइवानले निरन्तर निगरानी गरिरहेको छ। नौसेना अधिकारीहरूले चीनको मनसान फ्रिगेटको गतिविधिमा ध्यान दिइरहेका छन्। सेनाले चिनियाँ सैन्य जहाज र विमानको गतिविधिको निगरानी गर्न कम्ब्याट एयर पेट्रोल (क्याप) विमान र नौसेना जहाजहरू तैनाथ गरेको बताएको छ।

ताइवान सेनाले भूमिमा आधारित वायु रक्षा मिसाइल प्रणाली पनि तैनाथ गरेको छ।

गत वर्ष पूर्व सभामुख न्यान्सी पिलोसीले ताइवानको भ्रमण गरेर राष्ट्रपति साईलाई भेटेपछि क्रुद्ध भएको बेइजिङले जनमुक्ति सेनालाई ताइवान टापु वरपर उतारेर अभूतपूर्व अभ्यास गरेको थियो ।