चिनियाँ राष्ट्रपति सीलाई युक्रेनी समकक्षीसँग वार्ता गर्न स्पेनी प्रधानमन्त्रीको आग्रह



स्पेनका प्रधानमन्त्रीले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई युक्रेनी समकक्षीसँग कुरा गर्न आग्रह गरेको बताएका छन् ।

बेइजिङस्थित स्पेनी दूतावासमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री पेड्रो सान्चेजले युक्रेन जारी युद्धबारे आफूले सी र अन्य शीर्ष चिनियाँ अधिकारीसँगको भेटमा ‘चीनको अडान’ बारे छलफल गरेको बताए ।


उनले रूसी नेता भ्लादिमिर पुटिनले युरोपेली सङ्घ (ईयू)को शान्ति र कल्याणका लागि बहुपक्षीय परियोजनालाई कमजोर बनाउन खोजेको आरोप पनि लगाए।

“मैले राष्ट्रपति सीलाई युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग युक्रेनी सरकारको यो शान्ति योजनाबारे प्रत्यक्ष जानकारी लिन कुराकानी गर्न प्रोत्साहित गरें,” सान्चेजले भने ।

जेलेन्स्कीले पटक–पटक सीसँग वार्ताका लागि आफू तयार रहेको बताउँदै आएका तर पुटिनसँग पटक–पटक वार्ता भए पनि चिनियाँ नेताले युक्रेनसँगको छलफलका लागि अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।

बेइजिङले गत महिना युक्रेनको सङ्कटको ‘राजनीतिक समाधान’ का लागि १२ बुँदे कार्यपत्र सार्वजनिक गरेको थियो ।

युक्रेनका सहयोगीहरूले तुरुन्तै यो दस्तावेजमाथि शङ्का गरेका थिए भने यसलाई कीभले स्वागत गरेको थियो ।

सान्चेजले शुक्रबार द्वन्द्वमा आणविक हतियारको प्रयोगको विरोध गर्ने बेइजिङको अडान र ‘क्षेत्रीय अखण्डता’का लागि चीनको घोषित समर्थनको पनि स्वागत गरेका छन् ।

उनले भने, “चीन सरकारले युक्रेनमा शान्ति स्थापना गर्न गरेको प्रयासलाई म स्वागत गर्दछु ।”