चितवन । चितवन क्षेत्र नं २ मा लोकतान्त्रिक–वाम गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले मतदान गरेका छन्।
बिहान ७ मतदान सुरु भएलगत्तै श्रेष्ठले शक्तिखोरको चर्तुमुखी माध्यामिक विद्यालयबाट मतदान गरेका हुन् । श्रेष्ठका मुख्य प्रतिस्पर्धी नेकपा एमालेका रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेको भने सो क्षेत्रमा मतदाता नामावलीमा नाम छैन ।
गत निर्वाचनबाट सो क्षेत्रबाट निर्वाचित रास्वपाका अध्यक्ष समेत रहेका लामिछानेको नागरिकता विवादका कारण सर्वोच्च अदालतले बदर गरेपछि उपनिर्वाचन हुन लागेको हो ।
यस क्षेत्रमा ४३ स्थलका एक सय ३८ केन्द्रमा मतदान हुँदै छ । यहाँ एक लाख २४ हजार छ सय९५ जना मतदाता रहेका छन् । ती मध्ये ६३ हजार दुई सय ९१ महिला, ६१ हजार चार सय तीन पुरुष र एक जना तेस्रो लिङ्गी रहेका छन् । मतदानका लागि बिहान सबेरैदेखि मतदान केन्द्रमा मतदाता लाइनमा बसेका छन् ।
निर्वाचनका कारण यस क्षेत्रमा अत्यावश्यकबाहेकका सवारी रोकिएका छन् ।