गोरखा-जितगढी पदयात्रा आजदेखि सुरु



काठमाडौँ । नेपाली सेनाले नेपालको सैनिक इतिहासको जगेर्ना गर्ने उद्देश्यका साथ आजदेखि गोरखा-जितगढी पदयात्रा सुरु गरेको छ । मुलुकका ऐतिहासिक महत्व बोकेका गढी, किल्ला, युद्धस्थल, पदमार्गलगायतका धरोहरको संरक्षण‚ सम्वर्द्धन र प्रवर्द्धन गर्न यस्ता पदयात्रा र कार्यक्रमले ठूलो योगदान पुर्‍याउने विश्वास लिइएको छ ।

पश्चिम पृतनापति उपरथी  दीपककुमार बाँनियाले शुभारम्भ गरेको पदयात्रामा नेपालको राष्ट्रिय झण्डा, नेपाली सेनामा सबैभन्दा पहिले खडा भएका पाँच वटा गण तथा गुल्मका झण्डा समेटिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।


 सेनाका सबैभन्दा पहिलो खडा भएका गण तथा गुल्ममा श्रीनाथ, कालीबक्स, पुरानो गोरख, बर्दवाणी र सबुज गण हुन् ।  पदयात्रामा जितगढी लडाइँमा सहभागी गुरुबक्स गुल्मको झण्डासहित गोरखा जिल्लामा तैनाथ रिपुमर्दन गणबाट ऐतिहासिक पोसाक तथा परम्परागत बाजागाजा सहितको टोली सहभागी छन् ।

पदयात्रामा गोरखाबाट सहभागी फौजले तनहुँमा तैनाथ फौजलाई सतीघाटमा, तनहुँमा तैनाथ फौजले पाल्पामा तैनाथ फौजलाई केलादीघाटमा र पाल्पामा तैनाथ फौजले रूपन्देहीमा तैनाथ फौजलाई नुवाकोटगढीमा झण्डा हस्तान्तरण गर्नेछ ।

पदयात्रा गोरखा दरबारदेखि रूपन्देहीको जितगढीसम्म करिब २०७ किमि को दूरीमा आयोजना हुने सेनाले जनाएको छ । गोरखा नगरपालिका-६ स्थित गोरखा दरबारबाट सुरु भएको पदयात्रा बुटवलस्थित जितगढी पुगेर वैशाख ७ गते समापन  हुनेछ । सोही दिन सेनाद्वारा मर्मत भइरहेको जितगढीको प्रतिमा बुटवल उप-महानगरपालिकालाई हस्तान्तरण गर्ने कार्यक्रम छ ।