काठमाडौं। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि अमेरिकी राजदुत डिन आर. थम्पसनबीच भेटवार्ता भएको छ । बुधबार दिउँसो गृहमन्त्रालयमा भएको भेटमा नेपाल–अमेरिका द्वीपक्षीय सम्बन्ध र सहयोग आदानप्रदानका विषयमा छलफल भएको छ ।
त्यसक्रममा गृहमन्त्री श्रेष्ठले सरकार संक्रमणकालीन न्याय निरुपण सम्बन्धि विस्तृत शान्तिसम्झौताको मर्मअनुसार शान्तिप्रक्रियाका बाँकी काम सम्पन्न गर्ने उद्देश्यमा केन्द्रित भएको र नेपालका हितैषी अन्तर्राष्ट्रिय निकायबाट त्यसमा सहयोगको अपेक्षा गरिएको बताए । संक्रमणकालीन न्याय सम्पन्न गर्न सत्यनिरूपण तथा मेलमिलाप आयोग र वेपत्ता छानबिन आयोगलाई पूर्णता दिने कानुन निर्माणका लागि त्यस सम्बन्धि विधेयक संसदमा पेश भैसकेको समेत उनले बताए ।
राजदूत थम्पसनले अमेरिकाले नेपालको शान्तिप्रक्रियाले पूर्णता पाएको देख्न चाहेको तथा आफू र आफ्ना कुटनीटिक साझेदारहरूसँग यसको सहजताका लागि पहल लिने बताए ।
राजनीतिक अस्थिरताले विकासमा पार्न सक्ने प्रभावका बारेमा राजदूत थम्पसनले चासो लिएकोमा गृहमन्त्री श्रेष्ठले नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने संवैधानिक अभ्यासमै रहेकाले यसले विकास निर्माणलाई प्रभावित नगर्ने बताए । राजदूत थम्पसनले नेपाली लोकतन्त्रको सुदृढीकरणका लागि अमेरिकाले पूर्ण सहयोग गर्ने बताए ।
कोभिडपछि अमेरिकी सहयोग संस्था ’पिसकोर’को काम प्रभावित भएकाले ’पिसकोर’ कार्यकर्ताको भिसा सहजताका लागि राजदूत थम्पसनले आग्रह गरेकामा गृहमन्त्री श्रेष्ठले परराष्ट्र मन्त्रालयसँग समन्वय गरेर यसलाई सहज बनाइने बताए । नेपालमा अमेरिकी लगानी, कार्यरत संस्था तथा यसका कर्मचारीहरूको सुरक्षामा समेत राजदूतले चासो राखेका थिए । जवाफमा गृहमन्त्री श्रेष्ठले त्यसमा पूर्ण सुरक्षा हुने बताए ।