गण्डकी । गण्डकी प्रदेशको राजधानी सहर पोखरामा सञ्चालन भएको गण्डकी प्रदेशस्तरीय राष्ट्रपति कप रनिङ शिल्डको उपाधि कास्कीले जितेको छ । प्रतियोगितामा सहभागी १० जिल्ला मध्येमा कास्की च्याम्पियन बन्यो ।
‘राष्ट्रिय गरिमा र सामाजिक रुपान्तरणका लागि खेलकुद’को नारासहित प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजनामा पोखरा रङ्गशालामा मंगलबार भएको प्रतियोगितामा कास्कीले १४ स्वर्ण, १३ रजत र पाँच कास्य गरी कूल ३२ पदक जितेर च्याम्पियन बनेको हो ।
गत वर्षको विजेता बागलुङले १० स्वर्ण, पाँच रजत र १० कास्य पदक गरी कूल २५ पदकका साथ द्वितीय भयो । नवलपुर जिल्लाले सात स्वर्ण, तीन रजत र आठ कास्य गरी कूल १८ पदक जित्दै तृतीय स्थान हासिल गरेको हो ।
पोखरा रङ्गशालामा सम्पन्न भलिबल फाइनलमा नवलपुर विजयी भएको छ । नवलपुरले २८–२६, २५–२० ले बागलुङलाई पराजित गरेको हो भने पर्वतले गोरखालाई २५–२०, २५–१८ ले जित्दै तृतीय भयो । छात्रा भलिबलमा कास्कीले उपाधि जित्यो । कास्कीले स्याङ्जालाई २५–१८, २५–२१ ले फाइनल खेल जित्दा म्याग्दीले तनहुँलाई २५–२०, १९–२५ र २५–१९ ले जितेर तृतीय भएको छ ।
एथलेटिक्सतर्फ कास्कीले छ स्वर्ण आठ रजत पदक जित्दै प्रथम भएको छ भने नवलपुर पाँच स्वर्ण, एक रजत र पाँच कास्य पदक जितेर द्वितीय तथा स्याङ्जाले चार स्वर्ण र एक कास्यका साथ तृतीय भए ।
यही वैशाख ११ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा छ वटा खेल भएका थिए । जसमध्ये मार्सल आर्टतर्फ छात्र÷छात्रा तेक्वान्दो, कराते र उसु तथा टिम इभेन्टतर्फ एथलेटिक्स, कबड्डी र भलिबल भएका थिए ।
विजेता टिम तथा खेलाडीलाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशका सचिव हेमराज सुवेदी, प्रदेश खेलकुदका उपाध्यक्ष ध्वजकुमार गुरुङ, परिषद्का कार्यकारी सदस्यद्वय दिलबहादुर गुरुङ र ऋषिराम गौतमलगायतले ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरे ।
प्रदेशस्तरीय रनिङ शिल्ड प्रतियोगिताबाट छनोट भएका खेलाडी यही वैशाख १५ गतेदेखि काठमाडौँमा सुरु हुने तेह्रौँ संस्करणको केन्द्रीय राष्ट्रपति रनिङ शिल्डमा सहभागिता जनाउने छन् । प्रदेशस्तरीय प्रतियोगितबाट छनोट हुन सफल खेलाडीलाई एक दिने बन्द प्रशिक्षणमा राखिने परिषद्ले जनाएको छ ।
स्थानीय, प्रदेश र सङ्घस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले उत्कृष्ट अनुशासित र सक्षम देशका लागि आवश्यक राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन हुने लक्ष्य रनिङ शिल्डको छ ।